‘द भ्वाइस अफ नेपाल सिजन–७’ को ब्लाइन्ड अडिसनमा गायिका सञ्चिता दुराले वरिष्ठ गायिका बिमाकुमारी दुराको गीत ‘लमजुङ तुर्लुङकोट (नौ डाँडा काटेर पारि)’ गाएपछि विवाद सुरु भएको हो । आरोपअनुसार गीत प्रयोग गर्नुअघि बिमाकुमारी दुरासँग आवश्यक पूर्वस्वीकृति वा सहमति लिइएको थिएन ।
अभियोग पत्रअनुसार विवादित गीत बिमाकुमारी दुराको आफ्नै शब्द, संगीत र स्वरमा तयार भएको हो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा समेत गीतको शब्द, संगीत र गायन बिमाकुमारी दुराकै सिर्जनाका रूपमा दर्ता रहेको उल्लेख छ ।
गीत टेलिभिजन कार्यक्रममार्फत प्रसारण हुनुका साथै युट्युबमा समेत सार्वजनिक गरिएको थियो । त्यसमाथि प्रसारणका क्रममा वास्तविक स्रष्टाको नामको सट्टा अर्कै व्यक्तिको नाम उल्लेख गरिएको आरोप छ ।
विवाद उठेपछि वास्तविक स्रष्टाको नाम सच्याएर राख्नुको सट्टा भिडिओबाटै बिमाकुमारी दुराको नाम हटाइएको अभियोग पत्रमा उल्लेख छ । यसलाई स्रष्टाको नैतिक अधिकारमाथिको गम्भीर प्रश्नका रूपमा अघि सारिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । मुद्दामा हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाललाई मुख्य प्रतिवादी बनाइएको छ ।
अभियोगमा प्रतिलिपि अधिकार उल्लङ्घनमा कानुनी सजायसँगै स्रष्टालाई पुगेको आर्थिक नोक्सानीको पूर्ण क्षतिपूर्ति दिलाउन माग गरिएको छ । अनधिकृत प्रयोगबाट प्राप्त आर्थिक लाभ र रोयल्टीको विषयसमेत मुद्दाको महत्वपूर्ण पक्ष बनेको छ ।
प्रतिलिपि अधिकार ऐन, २०५९ ले स्रष्टालाई आफ्नो सिर्जनामा नाम पाउने, स्रष्टाका रूपमा चिनिने तथा सिर्जनाको स्वरूप संरक्षण गर्ने नैतिक अधिकार दिएको छ । त्यस्तै सिर्जनाको व्यावसायिक प्रयोग, प्रसारण वा पुनःउत्पादनबाट आर्थिक लाभ तथा रोयल्टी प्राप्त गर्ने अधिकारसमेत स्रष्टामा रहन्छ ।
ऐनको दफा २७ अनुसार प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार जरिबाना, कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दोहोरिएको कसुरमा थप सजायको व्यवस्था रहेको छ ।
मुद्दामा मुख्य प्रतिवादी बनाइएका धर्मराज भुसाललाई अदालतमा उपस्थित गराउने कानुनी प्रक्रिया अघि बढाउने माग गरिएको छ । अनुसन्धानमा नाम जोडिएका अन्य व्यक्तिहरूको ठेगाना तथा विवरण खुलेपछि पूरक अभियोग पत्रसमेत पेस हुन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd