logo

२०८३ कार्तिक ५ बुधबार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

  • kollywood 1
  • बुधबार, २८ असोज २०८३
91
SHARES
सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको सर्भाइभल कथामा आधारित चलचित्र आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय रहेको छ । निर्देशक धिराज राजवंशीले यस चलचित्रलाई नेपाली फिल्मको परम्परागत शैलीभन्दा फरक ढङ्गले निर्माण गरिएको बताएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा निकै फरक रहेको बताइन् । सामाजिक, पारिवारिक र प्रेमकथामा आधारित चलचित्रमा काम गर्दै आएकी उनले यसपटक मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने विषयमा आधारित कथामा अभिनय गरेकी छन् । महिला पात्रलाई केन्द्रमा राखिएको यो चलचित्र आफ्नो करिअरका लागि विशेष रहेको उनको भनाइ छ ।

अभिनेता कर्मा शाक्यले पनि चलचित्रको कथावस्तु नियमित रूपमा निर्माण हुने नेपाली फिल्मभन्दा फरक रहेको बताए । नयाँ निर्देशक र नयाँ सोचका साथ काम गर्न आफू सधैँ उत्साहित हुने उल्लेख गर्दै उनले महिला प्रधान कथाले पनि नेपाली चलचित्र बजारमा स्थान पाउन थालेकोमा खुसी व्यक्त गरे ।

‘हिमालयन गोल्ड’ को अर्को महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय प्रदर्शन हो । निर्माण पक्षका अनुसार चलचित्र भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै सम्बन्धित भाषाका उपशीर्षकसहित प्रदर्शन गरिनेछ । भारतीय बजारमा चलचित्र वितरणका लागि प्रतिष्ठित कम्पनी एए फिल्म्सका संस्थापक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ ।

‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ च्याप्टर २’ र ‘पुष्पा’ जस्ता चर्चित चलचित्र वितरण गरिसकेको एए फिल्म्सले यस चलचित्रलाई भारतभर पुर्‍याउने तयारी गरेको छ । निर्माण पक्षका अनुसार ‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको छ ।

चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा फिल्मको सम्भावना बलियो रहेको बताएका छन् । नेपाली चलचित्रले विदेशी बजारमा स्थान पाउन सके उद्योगको विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

दिग्गज अभिनेता सुनिल थापाको अन्तिम फिल्म भएकाले पनि ‘हिमालयन गोल्ड’ नेपाली चलचित्र क्षेत्रका लागि विशेष मानिएको छ । लामो समयसम्म नेपाली तथा भारतीय चलचित्रमा अभिनय गरेर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका थापाको अन्तिम प्रस्तुतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने तयारीले चलचित्रप्रति थप चासो बढाएको छ ।

अब मंसिर ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रले नेपाली दर्शकसँगै अन्तर्राष्ट्रिय बजारमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।


बुधबार, २८ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go