शारदीय नवरात्रको पाँचौँ दिन आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका अवसरमा भक्तजनहरूले श्रद्धापूर्वक देवी स्कन्दमाताको पूजा गरिरहेका छन् ।
कमलको फूलमाथि विराजमान रहने भएकाले स्कन्दमातालाई पद्मासना देवीका नामले पनि चिनिन्छ । सेतो वर्णकी देवीको वाहन सिंह हो । देवीका चार हातमध्ये दुई हातमा कमलको फूल रहेको छ भने एउटा हातले काखमा रहेका पुत्र स्कन्दकुमार अर्थात् कार्तिकेयलाई सम्हालेको छ । अर्को हात वरमुद्रामा रहेको धार्मिक मान्यता छ ।
देवी भागवत पुराणका अनुसार स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुन् । उनको भक्तिपूर्वक पूजा–आराधना गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ । स्कन्दमाताको उपासना गर्दा भगवान् कार्तिकेयको समेत उपासना हुने धार्मिक मान्यता छ ।
पौराणिक कथाअनुसार तारकासुरले तीनै लोकमा आतंक मच्चाएपछि भगवान् शिवका पुत्र कार्तिकेयले उनको वध गरेका थिए । सतीदेवीले पार्वतीका रूपमा पुनर्जन्म लिएर कठोर तपस्या गरेपछि शिवसँग विवाह भएको र त्यसपछि कार्तिकेयको जन्म भएको प्रसङ्ग पुराणमा उल्लेख छ ।
धार्मिक विश्वासअनुसार स्कन्दमाताको पूजा गर्नाले भक्तका मनोकामना पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने मान्यता छ । उनको आराधनाले मानसिक शान्ति, पारिवारिक सद्भाव र जीवनका चुनौतीसँग जुध्ने आत्मबल प्राप्त हुने विश्वास पनि गरिन्छ ।
यस दिन भक्तजनले स्नान गरी हरियो वस्त्र धारण गरेर उत्तरतर्फ मुख फर्काई पूजा गर्ने परम्परा छ । देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाइन्छ । त्यसपछि देवीको स्तुति पाठ, आरती तथा प्रसाद वितरण गरी पूजा सम्पन्न गर्ने गरिन्छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd