logo

२०८३ भाद्र २७ शनिबार

‘ए मेरो हजुर ५’ले औपचारिक रूपमा निर्माण यात्रा सुरु

‘ए मेरो हजुर ५’ले औपचारिक रूपमा निर्माण यात्रा सुरु

247
SHARES
‘ए मेरो हजुर ५’ले औपचारिक रूपमा निर्माण यात्रा सुरु

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित फिल्म ‘ए मेरो हजुर ५’ले औपचारिक रूपमा निर्माण यात्रा सुरु गरेको छ। शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।

मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाले मुहूर्त सट दिएका थिए। चलचित्रमा यी दुई कलाकारलाई जोडीका रूपमा प्रस्तुत गरिँदैछ।

मुहूर्त सकिएलगत्तै फिल्मको छायांकन पनि थालिएको छ। पहिलो दिन काठमाडौंमा दृश्य खिचेपछि निर्माण टोली बाजुरातर्फ जाने तयारीमा छ। जनै पूर्णिमाको अवसरमा बडीमालिका मन्दिरमा लाग्ने धार्मिक मेलालाई समेत फिल्मको छायांकनमा समेटिनेछ। त्यसपछि खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि विभिन्न दृश्य खिचिने निर्माण पक्षले जनाएको छ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्ममा अनमोल र सुहानासँगै दीलिप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ।

‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा मुख्य भूमिकामा देखिएकी झरना थापा करिब २५ वर्षपछि यही फ्रेन्चाइजमा फर्किएकी हुन्। यसपटक भने उनी कलाकारका रूपमा मात्र नभई निर्देशकको जिम्मेवारीमा समेत रहेकी छन्।

फिल्मको कथा तथा पटकथा झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। सञ्जय लामाको छायांकन रहने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्। रामजी लामिछानेको कोरियोग्राफी, राजन मोक्तानको कलर ग्रेडिङ तथा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

फिल्मको वितरण अधिकार काफिया फिल्म्स र कुबेर सिने डिष्ट्रिब्युसनले सम्हाल्ने भएका छन्। काठमाडौंसँगै बाजुरा र खप्तडका प्राकृतिक तथा धार्मिक स्थलमा हुने छायांकनले ‘ए मेरो हजुर ५’लाई दृश्यात्मक रूपमा पनि विशेष बनाउने अपेक्षा गरिएको छ।


आइतबार, ३१ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go