गत वर्ष व्यावसायिक सफलता हासिल गरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’को दोस्रो भाग ‘कलेजी ऊनको स्वीटर’को छायांकन सुरु भएको छ। सिक्किमको युमथाङ उपत्यकामा सोमबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। लामा गुरुहरूको मन्त्र उच्चारणसहित सम्पन्न मुहूर्तपछि भारतीय अभिनेता पीयूष मिश्रा र एलेक्स पारसले फिल्मको पहिलो दृश्य दिएका थिए।
मुहूर्त समारोहमा सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो। उनीहरूले फिल्मको सफलताको कामना गर्दै चर्चित नेपाली फिल्मको सिक्वेल सिक्किममा छायांकन हुन लागेकोमा खुसी व्यक्त गरेका थिए।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गरिने फिल्ममा पहिलो भागका लोकप्रिय जोडी विपिन कार्की र मिरुना मगर पुनः मुख्य भूमिकामा देखिनेछन्। विपिनले धरणीधर काफ्ले र मिरुनाले फूल गुरुङको चरित्रलाई निरन्तरता दिनेछन्। उनीहरूसँगै पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया फौजा मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।
‘ऊनको स्वीटर’बाट राष्ट्रिय अवार्ड जितेका नवीन चौहानले नै यस फिल्मको निर्देशन तथा लेखनको जिम्मेवारी सम्हालेका छन्। यो उनको दोस्रो निर्देशकीय फिल्म हो। अभिषेक सुवेदी सहलेखक तथा मुख्य सहायक निर्देशकका रूपमा जोडिएका छन् भने चिन्तन राजभण्डारीले छायांकन गर्नेछन्। फिल्मका गीतमा कोविद बज्रको संगीत रहनेछ।
निर्देशक चौहानका अनुसार पहिलो भागको कथा अधुरो रहेको दर्शकको प्रतिक्रियालाई ध्यानमा राखेर सिक्वेल निर्माण गर्न लागिएको हो। नयाँ भागमा काफ्ले, फूल, डम्बर र ईक्षाका कथालाई अघि बढाउँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप पक्षलाई प्रस्तुत गरिनेछ। पहिलो फिल्मले दर्शकको मनमा छोडेका पात्र र अनुभूतिलाई अझ फराकिलो कथाविश्वमा विस्तार गर्ने उनको भनाइ छ।
अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले नेपाली बक्स अफिसमा करिब १२ करोड रुपैयाँ कमाएको थियो। २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको यसले भारतीय हलमा समेत करिब डेढ करोड भारुको व्यापार गर्दै प्रदर्शनको ५१ दिन पूरा गरेको थियो। फिल्मका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ जस्ता गीत पनि दर्शकमाझ लोकप्रिय बनेका थिए।
पहिलो भागको व्यावसायिक सफलता र दर्शकको भावनात्मक सम्बन्धलाई निरन्तरता दिने लक्ष्यसहित निर्माण भइरहेको ‘कलेजी ऊनको स्वीटर’प्रति अहिलेबाटै दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd