logo

२०८३ कार्तिक ११ मंगलबार

विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण

विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण

  • kollywood_khabar
  • मंगलबार, ११ कार्तिक २०८३
52
SHARES
विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण

नेपाली चलचित्र क्षेत्रको नियामक निकाय चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यक्षमा नियुक्त भएका पण्डितले सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री डा. विक्रम तिमिल्सिनाबाट शपथ लिएका हुन्। सोही अवसरमा उनले नियुक्तिपत्रसमेत बुझेका थिए।

शपथ ग्रहणपछि पण्डित चाबहिलस्थित सरस्वती नगरमा रहेको बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। उनी चलचित्र विकास बोर्डको १९औँ अध्यक्ष बनेका हुन्। बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ।

निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल समाप्त भएपछि सञ्चार मन्त्रालयले असोज १ गते नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन खुलाएको थियो। उक्त पदका लागि पण्डितसहित १२ जनाले आवेदन दिएका थिए। आवेदनमध्येबाट छनोट सूचीमा परेका मनिष पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो। अन्ततः मन्त्रिपरिषद्ले पण्डितलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

फिल्म निर्माता तथा लेखकसमेत रहेका पण्डितले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’बाट चलचित्र निर्माणमा प्रवेश गरेका थिए। उक्त फिल्ममा उनले कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका थिए।

त्यसपछि उनले चलचित्र विकास बोर्डमा बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल बोर्ड अध्यक्ष रहेको समयमा उनी बक्स अफिससम्बन्धी परामर्शको जिम्मेवारीमा थिए।

बोर्डमा कन्सल्टेन्टका रूपमा काम गरेको करिब आठ वर्षपछि पण्डित अध्यक्षकै जिम्मेवारीमा फर्किएका छन्। उनको नियुक्तिसँगै नेपाली चलचित्र क्षेत्रको विकास, बक्स अफिस प्रणालीको प्रभावकारिता र चलचित्रसम्बन्धी नीतिगत सुधारमा नयाँ नेतृत्वले कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ।


मंगलबार, ११ कार्तिक २०८३
सम्बन्धित समाचार
Go