logo

२०८३ कार्तिक ११ मंगलबार

‘मातृभूमि’ को प्रदर्शन अन्योलमा

‘मातृभूमि’ को प्रदर्शन अन्योलमा

  • kollywood_khabar
  • मंगलबार, ११ कार्तिक २०८३
26
SHARES
‘मातृभूमि’ को प्रदर्शन अन्योलमा

बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘मातृभूमि’ को प्रदर्शन अन्योलमा परेको छ। आगामी अप्रिल १७ मा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मले भारतीय रक्षा मन्त्रालयबाट आवश्यक अनुमति नपाएपछि रिलिज प्रक्रिया प्रभावित बनेको हो। दुईपटक फिल्मको संशोधित संस्करण देखाउँदासमेत मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् २०२० मा लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा आधारित यस फिल्मको सुरुवाती नाम ‘ब्याटल अफ गलवान’ थियो। कथावस्तु र प्रस्तुतिलाई लिएर चीनले आपत्ति जनाएपछि भारतीय रक्षा मन्त्रालयले फिल्मको नाम परिवर्तन गर्नुका साथै केही दृश्यमा संशोधन गर्न निर्देशन दिएको बताइएको छ। त्यसपछि निर्माताले फिल्मको नाम ‘मातृभूमि’ राखेर केही दृश्य पुनः छायांकन गरेका थिए।

अक्टोबरको सुरुवातमा फिल्मको परिमार्जित संस्करण मन्त्रालयमा प्रदर्शन गरिएको थियो। उक्त स्क्रिनिङमा अभिनेता सलमान खान र निर्देशक अपूर्व लाखिया पनि सहभागी थिए। तर, दोस्रोपटक फिल्म हेरेपछि पनि मन्त्रालयले प्रदर्शनका लागि आवश्यक स्वीकृति दिएको छैन। यसले फिल्मको प्रदर्शन मिति थप पछाडि धकेलिने सम्भावना बढाएको छ।

भारतीय रक्षा मन्त्रालयबाट एनओसी प्राप्त नभएसम्म फिल्मको सेन्सर प्रक्रिया अघि बढ्न नसक्ने अवस्था छ। त्यसपछि सेन्सर बोर्डबाट प्रमाणपत्र लिएर मात्र फिल्म प्रदर्शन गर्न सकिनेछ। अनुमति र सेन्सरसम्बन्धी प्रक्रिया पूरा गर्न अझै तीनदेखि चार महिना लाग्न सक्ने अनुमान गरिएको छ। त्यसैले फिल्म यसै वर्ष प्रदर्शनमा आउने सम्भावना कमजोर देखिएको छ।

फिल्ममा सलमान खानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन्। अभिनेत्री चित्रांगदा सिंह उनको जोडीका रूपमा देखिनेछिन्। नेपाली अभिनेता अनुप विक्रम शाहीले चिनियाँ सैनिकको भूमिका निभाएका छन्। फिल्ममा सलमान र अनुपबीचको १३ मिनेट लामो एक्सन दृश्य रहेको बताइएको छ।


मंगलबार, ११ कार्तिक २०८३
सम्बन्धित समाचार
Go