logo

२०८३ कार्तिक ११ मंगलबार

‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक, दाजुभाइको एकता र सम्बन्धको कथा

‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक, दाजुभाइको एकता र सम्बन्धको कथा

  • kollywood_khabar
  • मंगलबार, ११ कार्तिक २०८३
26
SHARES
‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक, दाजुभाइको एकता र सम्बन्धको कथा

िहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक भएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो।

दाजुभाइबीचको आत्मीयता, आपसी विश्वास र एकताको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको छ। अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको गीतले चलचित्रको कथावस्तु र यसको मूल भावलाई समेत उजागर गर्ने प्रयास गरेको छ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देख्न सकिन्छ। स्वर्गलोकमा रहेका युधिष्ठिर आफ्ना भाइहरू समस्यामा परेको थाहा पाएपछि उनीहरूको खोजी गर्दै धर्तीमा आइपुगेको प्रसंगलाई भिडियोमा प्रस्तुत गरिएको छ। गीतको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरी पनि देखिएकी छन्।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो श्याम तामाङले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। लेखक सुशील पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलासँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। छायांकन श्याम तामाङको रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक तथा पुकार धिमालको भिएफएक्स रहेको छ। निर्देशक निरौलाका अनुसार चलचित्रलाई डल्बी एटमस साउन्डमा पनि अनुभव गर्न सकिनेछ।

‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्मसले देशव्यापी वितरणको जिम्मेवारी लिएको छ।


मंगलबार, ११ कार्तिक २०८३
सम्बन्धित समाचार
Go