२०८२ सालमा दर्शकको मन जित्दै सफल बनेको चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। काठमाडौंमा शनिबार आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट ‘कलेजी–ऊनको स्वीटर’ नाममा यसको औपचारिक घोषणा गरिएको हो।
निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत चलचित्रको शीर्षक सार्वजनिक गर्दै ‘ऊनको स्वीटर’को कथा नयाँ आशा, नयाँ यात्रा र नयाँ कथासहित अघि बढ्ने बताएका छन्। उनका अनुसार यो केवल सिक्वेल नभई अघिल्लो भागमा अधुरो रहेका पात्रहरूको जीवन र यात्रालाई नयाँ अध्यायमा विस्तार गर्ने प्रयास हो।
दर्शकको निरन्तर माग र ‘ऊनको स्वीटर’को कथालाई पूर्णता दिने चाहनाका कारण सिक्वेल निर्माण गर्न लागेको निर्देशक चौहानले बताएका छन्। उनका अनुसार धेरै दर्शकले कथा अधुरो रहेको भन्दै यसको अर्को भागको प्रतीक्षा गरिरहेका थिए।
‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल भावलाई आत्मसाथ गर्दै निर्माण हुन लागेको चलचित्रको कथा सिक्किमबाट अघि बढ्नेछ। धरणीधर र फूलको अधुरो प्रेमकथाले यसपटक नयाँ मोड लिने बताइएको छ।
सिक्वेलमा अघिल्लो चलचित्रकै चर्चित जोडी विपिन कार्की र मिरुना मगर क्रमशः धरणीधर र फूलको भूमिकामा दोहोरिनेछन्। एलेक्स पारस र परीक्षा लिम्बूको पनि महत्वपूर्ण भूमिका रहनेछ। यससँगै भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको विशेष सहभागिता रहने भएको छ। ‘ऊनको स्वीटर’ हेरेर तथा लामो समय लगाएर स्क्रिप्ट अध्ययन गरेपछि मिश्राले चलचित्रमा काम गर्न सहमति जनाएको निर्देशक चौहानले जानकारी दिएका छन्।
अभिषेक सुवेदीको सहलेखन तथा नवीन चौहानको लेखन र निर्देशनमा बन्ने चलचित्रको प्राविधिक टोली भने केही समयपछि सार्वजनिक गरिनेछ। निर्माणमा नेपाल र भारतका प्राविधिकहरूको सहभागिता रहनेछ। चलचित्रको छायांकन आगामी दशैँपछि सुरु गर्ने तयारी छ भने सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले घरेलु बजारमा करिब १२ करोड रुपैयाँको व्यापार गर्दै २०८२ सालको सफल चलचित्रको सूचीमा आफूलाई स्थापित गरेको थियो। भारतमा समेत करिब डेढ करोड भारु बराबरको व्यापार गर्दै चलचित्रले ५१ दिनको यात्रा पूरा गरेको थियो।
चलचित्रका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ लगायतका गीतसमेत दर्शकमाझ लोकप्रिय बने। पुरस्कारतर्फ पनि ‘ऊनको स्वीटर’ले प्रभावशाली सफलता हासिल गरेको छ। राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको चलचित्रले इन्फामा उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत र संगीतसहित नौ विधामा अवार्ड हात पारेको छ।
त्यसैगरी कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता तथा नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, लेखक र ब्याकराउन्ड म्युजिकको पुरस्कार जितेको ‘ऊनको स्वीटर’ले हालसम्म १९ वटा अवार्ड प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ।
अब भने यही सफल चलचित्रको कथा ‘कलेजी–ऊनको स्वीटर’मार्फत अझ फराकिलो संसारमा पुग्ने तयारीमा छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd