९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालबाट प्रतिनिधित्व गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु भएको छ।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले सूचना जारी गर्दै मापदण्ड पूरा गर्ने नेपाली चलचित्रका निर्मातालाई भदौ २२ गते अर्थात् सेप्टेम्बर ७, २०२६ भित्र आवेदन दिन आग्रह गरेको छ। इच्छुक निर्माताले काठमाडौंस्थित समितिको सचिवालयमा आवश्यक कागजातसहित चलचित्र दर्ता गराउनुपर्नेछ।
ओस्कार छनोटका लागि चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण प्राप्त गरेको हुनुपर्नेछ। साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ अर्थात् १ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६ सम्म नेपालका व्यावसायिक सिनेमा घरमा प्रदर्शन भएको हुनुपर्नेछ। चलचित्र कम्तीमा लगातार सात दिन टिकट बिक्रीसहित प्रदर्शन भएको हुनुपर्ने व्यवस्था छ।
नेपालमा तोकिएको प्रदर्शन मापदण्ड पूरा नभए अमेरिका र उसका भूभागबाहेक अन्य देशका व्यावसायिक हलमा टिकटसहित लगातार सात दिन प्रदर्शन भएको चलचित्रलाई पनि योग्य मानिनेछ। त्यो पनि सम्भव नभए ओस्कारले मान्यता दिएका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ प्राप्त गरेको हुनुपर्नेछ।
टेलिभिजन, भीओडी, डीभीडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलोपटक सार्वजनिक भएका चलचित्र भने छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
त्यसैगरी, चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ। कथावस्तुमा नेपाली परिवेश तथा तत्व प्रतिबिम्बित हुनुपर्ने र चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्ने प्रावधान छ। साथै, स्पष्ट र बुझिने अंग्रेजी सबटाइटल अनिवार्य गरिएको छ।
छनोट हुने चलचित्रले ओस्कारका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ। चलचित्र ३५ एमएम वा ७० एमएम फिल्ममा, अथवा न्यूनतम २०४८×१०८० पिक्सेल रिजोलुसनसहित २४ वा ४८ फ्रेमको डीसीपी फर्म्याटमा उपलब्ध हुनुपर्नेछ। अडियो भने ५.१ वा ७.१ च्यानलमा हुनुपर्नेछ।
आवेदनका लागि निर्माताले अनलाइन फारम भरी आवश्यक सामग्रीसहित समितिको काठमाडौंस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन्। थप नियम तथा प्राविधिक मापदण्ड ओस्कारको आधिकारिक वेबसाइटमा समेत हेर्न सकिने समितिले जनाएको छ।
थप जानकारीका लागि समितिका अध्यक्ष लक्ष्मीनाथ शर्मालाई सम्पर्क गर्न वा internationalfeaturenepal@gmail.com मा इमेल गर्न सकिने सूचनामा उल्लेख छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd