‘गौंथली’को कमाइ २५ करोड पार, ‘हली’ र ‘लज्जावती’को व्यापार भने कमजोर
नेपाली फिल्म ‘गौंथली’ले घरेलु बक्स अफिसमा आफ्नो बलियो पकड कायमै राख्दै २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ । कपिल रिजालको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार आइतबार रातिसम्म ‘गौंथली’ले नेपालमा कुल २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यही अवधिमा फिल्मका ९ लाख ९ हजार ४२६ टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
यो सँगै ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा पुगेको छ । प्रदर्शनमा आएको लामो समयपछि पनि फिल्मप्रति दर्शकको आकर्षण कायम रहनुले यसको व्यावसायिक सफलता थप बलियो बनेको देखिन्छ ।
फिल्ममा सिम्रन खड्का र अरूण क्षेत्री मुख्य भूमिकामा छन् । महिलाको संघर्ष, सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई कथाको केन्द्रमा राखिएको ‘गौंथली’लाई दर्शकले रुचाएपछि यसको व्यापार लगातार बढिरहेको हो ।
फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन् । नेपालमा उल्लेख्य व्यापार गरिरहेको फिल्मले विदेशका विभिन्न बजारमा पनि राम्रो प्रतिक्रिया र कमाइ पाइरहेको निर्माण पक्षको दाबी छ ।
‘गौंथली’को व्यापार उकालो लागिरहेका बेला पछिल्लो समय प्रदर्शनमा आएका केही नेपाली फिल्म भने बक्स अफिसमा कमजोर देखिएका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हली’ले अपेक्षित व्यापार गर्न सकेको छैन ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार भदौ ७ गतेसम्म ‘हली’ले २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त फिल्मका ८ हजार ३८५ टिकट बिक्री भएका छन् ।
त्यस्तै, साउन २९ गतेबाट प्रदर्शनमा आएको ‘लज्जावती’को अवस्था अझ कमजोर देखिएको छ । भदौ ७ गतेसम्म फिल्मले नेपालमा ७ लाख ६८ हजार ४५० रुपैयाँ मात्र ग्रस व्यापार गरेको बोर्डको तथ्यांक छ । यस अवधिमा ‘लज्जावती’का २ हजार ६९६ टिकट बिक्री भएका छन् ।
एकातिर ‘गौंथली’ले करोडौं रुपैयाँको व्यापार गर्दै नेपाली फिल्मको बक्स अफिसमा बलियो उपस्थिति जनाइरहेको छ भने अर्कोतर्फ नयाँ फिल्महरूलाई दर्शक तान्न चुनौती देखिएको छ । पछिल्ला फिल्महरूको व्यापारिक अवस्थाले दर्शकको रोजाइ, विषयवस्तु र प्रचारप्रसारले बक्स अफिस परिणाममा ठूलो प्रभाव पार्ने देखाएको छ ।
‘गौंथली’ले २५ करोडको आँकडा पार गरिसकेको अवस्थामा यसको आगामी व्यापारप्रति पनि फिल्म क्षेत्रको चासो बढेको छ । प्रदर्शनको गति कायम रहेमा फिल्मले आफ्नो कमाइ थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd