logo

२०८३ भाद्र ८ सोमबार

‘वीर गणेशमान’ भदौ १४ गतेदेखि सर्वनाम थिएटरमा मञ्चन हुने

‘वीर गणेशमान’ भदौ १४ गतेदेखि सर्वनाम थिएटरमा मञ्चन हुने

65
SHARES
‘वीर गणेशमान’ भदौ १४ गतेदेखि सर्वनाम थिएटरमा मञ्चन हुने

ऐतिहासिक नाटक ‘वीर गणेशमान’ आगामी भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटक नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा केन्द्रित छ।



नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका छन्। मल्लका अनुसार ‘वीर गणेशमान’ एउटा ऐतिहासिक व्यक्तिको जीवनीमा सीमित नभई देशप्रतिको समर्पण, इमानदारी, त्याग र निष्ठाको कथा हो। करिब पाँच दशक लामो आफ्नो नाट्य यात्रामा पहिलोपटक यथार्थपरक शैलीको नाटक निर्देशन गर्न लागेको बताउँदै उनले यस प्रस्तुति आफ्ना अघिल्ला कामभन्दा फरक रहेको उल्लेख गरेका छन्।

नाटकमा निरङ्कुश राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको संघर्ष, भद्रगोल जेलमा बिताएको समय तथा करिब ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई प्रमुखताका साथ देखाइनेछ। प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डको समेत पर्वाह नगरी संघर्ष गरेका गणेशमानको त्याग, साहस र अडिग निष्ठालाई रङ्गमञ्चमा प्रस्तुत गरिने जनाइएको छ।

त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री पद अस्वीकार गरेको प्रसङ्गलाई पनि नाटकको महत्त्वपूर्ण घटनाका रूपमा समेटिएको छ। पद, सत्ता र व्यक्तिगत स्वार्थभन्दा देश तथा जनताको अधिकार र स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक आदर्शलाई नाटकमार्फत उजागर गर्ने प्रयास गरिएको छ।

सर्वनाम नेपाली रङ्गमञ्चको पुरानो तथा प्रतिष्ठित नाट्य समूह हो। वि.सं. २०३८ सालमा स्थापना भएको यस संस्थाले विगत चार दशकभन्दा लामो समयदेखि नेपाली नाटकको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान दिँदै आएको छ। पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध नाटकमार्फत आवाज उठाएको सर्वनामले नेपालमा संस्थागत रूपमा सडक नाटकको सुरुवात गर्ने श्रेयसमेत पाएको छ।

आफ्नै श्रम, लगानी र समर्पणबाट नाट्यगृह निर्माण गर्दै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेको सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवसँगै विभिन्न कार्यशाला, प्रशिक्षण र नियमित नाटक मञ्चन गर्दै आएको छ।

‘वीर गणेशमान’मार्फत सर्वनामले नेपाली इतिहासको महत्त्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने उद्देश्य राखेको जनाएको छ।


सोमबार, ८ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go