निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र **‘शुभ विवाह’**को छायांकन पोखराबाट सुरु भएको छ । क्यामेरा पूजा गर्दै निर्माण टोलीले आइतबारदेखि फिल्मको औपचारिक छायांकन थालेको हो ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन करिब ४५ दिनमा सक्ने लक्ष्य राखिएको छ । यसका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेको छ ।
चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन् । निर्देशक थापा र अभिनेता खड्काले यसअघि सफल चलचित्र **‘प्रेम गीत’**मा सहकार्य गरेका थिए । लामो समयपछि उनीहरू पुनः एउटै चलचित्रमा जोडिएपछि ‘शुभ विवाह’लाई लिएर दर्शकमाझ चासो बढेको छ ।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेतलगायत कलाकारको अभिनय रहनेछ ।
सुप्रिया कटुवाल निर्माता र साम भुजेल कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् । पटकथा तथा संवाद रामशरण पाठकको छ । रोमान्टिक कथामा आधारित फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ ।
राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा विक्रम स्वारले नृत्य निर्देशन गर्नेछन् । फिल्मको प्रदर्शन मिति फागुन २१ गते तोकिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd