भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ किन्नर समुदायका पात्रको कथा भए पनि केवल तेस्रोलिंगीहरूको विषयमा सीमित नरहेको निर्माणपक्षले स्पष्ट पारेको छ।
ट्रेलरमा किन्नर समुदायका धेरै पात्र देखिएकाले चलचित्र उनीहरूकै कथामा केन्द्रित रहेको बुझाइ हुनसक्ने भए पनि निर्माताले फिल्मको मूल विषय आमा र छोरीबीचको सम्बन्ध रहेको बताएका छन्।
निर्माता अनुप पौडेलका अनुसार चलचित्रको केन्द्रमा किन्नर समुदायकी महिला पिरती छिन्। उनी आफ्नो समुदाय, छोरी र आफूले रोज्न चाहेको जीवनबीचको संघर्षमा छिन्। उनका अनुसार पिरतीको लैंगिक पहिचान कथाको महत्वपूर्ण पाटो भए पनि त्यसलाई मात्रै आधार बनाएर चलचित्र बुझ्दा यसको मूल भाव साँघुरिन सक्छ।
‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ मूलतः एउटी आमाले हराएकी छोरीको खोजीमा गर्ने संघर्ष र त्यस क्रममा तय गर्ने यात्राको कथा रहेको पौडेलको भनाइ छ। चलचित्रले परिवार, नाता, सम्बन्ध, प्रेम र मातृत्वसँगै समाजले निर्माण गरेका सीमामाथि पनि प्रश्न उठाउने उनले बताए।
निर्माणपक्षले आमाको माया, सम्बन्ध र संघर्ष कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित नहुने जनाएको छ। किन्नर समुदाय चलचित्रको महत्वपूर्ण हिस्सा भए पनि अन्य समुदाय र फरक पृष्ठभूमिका पात्रहरूको उपस्थितिले कथालाई अझ फराकिलो बनाएको बताइएको छ।
अविनाश विक्रम शाहको निर्देशनमा बनेको चलचित्रको पटकथा पनि शाहकै हो। कथा भने अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन्। कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको चलचित्रले कान्समा जुरी च्वाइस अवार्डसमेत प्राप्त गरेपछि नेपाली दर्शकमाझ यसको प्रतीक्षा बढेको छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको परिवेशमा कथा अघि बढ्ने चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्र भदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd