रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ । तीजको माहोललाई लक्षित गरेर सार्वजनिक गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ । गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।
लोकलयमा तयार पारिएको गीतले पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको र अरुको देखासिकी गर्ने प्रवृत्ति बढेको विषयलाई उठाएको छ । विशेषगरी लत्ताकपडा र गरगहनामा अरुको नक्कल गर्ने तथा त्यसका लागि ऋणधन गरेर भए पनि श्रीमानसँग माग पूरा गराउने सामाजिक प्रवृत्तिलाई गीतले व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ ।
नाच्न मिल्ने शैलीमा तयार गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरूलाई समेटिएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन् । भिडियोमा ठूलो संख्यामा कोरस कलाकारको समेत प्रयोग गरिएको छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय छ ।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा छ । प्रेमकथामार्फत सामाजिक भावना र नेपाली परिवेशलाई प्रस्तुत गर्ने उद्देश्य राखिएको निर्माण पक्षले जनाएको छ ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप र चुडामणी (सीएम) प्रोडक्सनमा छन् ।
निर्देशनमा रेखा थापा आठ वर्षपछि फर्किएको यो फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd