भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ले सार्वजनिक भएको २४ घण्टामै डिजिटल प्लेटफर्ममा राम्रो चर्चा बटुलेको छ । गीतले युट्युबमा ४ लाखभन्दा बढी भ्युज पाउनुका साथै टिकटकमा २० हजारभन्दा बढी भिडियो निर्माण भएको निर्माण पक्षले जनाएको छ ।
गीतले यसअघि चलचित्रकै पहिलो गीत ‘दिलमा ठाउँ छ’ले बनाएको सुरुवाती रेकर्डलाई समेत उछिनेको छ । ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको पहिलो २४ घण्टामा टिकटकमा करिब १० हजार भिडियो बनेका थिए । अहिले उक्त गीत युट्युबमा करिब १ करोड भ्युज नजिक पुगेको जनाइएको छ ।
रोमान्टिक शैलीको ‘म भईन भने’ गीतले लामो समयपछि नेपाली चलचित्रमा प्रेमप्रधान गीत सुन्न र हेर्न पाएको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र दुर्गा खरेलले स्वर दिएका छन् । उदय राज पौडेलले संगीत संयोजन गरेको गीतको भिडियो दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा खिचिएको हो । उत्सव दाहालको छायांकन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पारस बम ठकुरी ‘कुल ब्वाइ’ र अभिनेत्री दिव्या रायमाझीको रोमान्टिक जोडी देखाइएको छ ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा छन् ।
नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक छन् ।
काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd