रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्न थालेको छ । देश तथा विदेशबाट सहयोग भइरहेका बेला नेपाली कलाकारहरू पनि बाढीपीडितको सहयोगमा अगाडि आएका छन् ।
कलाकारहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै विपद्मा परेकाहरूलाई साथ दिएका हुन् । उनीहरूले सामाजिक सञ्जालमार्फत आफूले गरेको सहयोगबारे जानकारी दिँदै अरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन् ।
अभिनेता विराज भट्टले राहत कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सहयोग गरेको जानकारी दिँदै विपद्को समयमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
त्यस्तै, अस्ट्रेलियामा रहेकी गायिका रचना रिमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले विपद्को समयमा राज्यका संयन्त्र उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय रहेकाले नागरिकको पनि सहयोग गर्ने जिम्मेवारी रहेको बताएकी छन् ।
रिमालले अस्ट्रेलियामा हुने आफ्नो कार्यक्रमसमेत अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएकी छन् ।
अभिनेत्री नीता ढुंगानाले पनि बाढीपीडित तथा प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेकी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गर्ने बताएकी छन् ।
अभिनेता अनमोल केसीले पनि राहत कोषमा सहयोग गरेका छन् । उनले सहयोग गरेको रकम भने सार्वजनिक गरेका छैनन् । सामाजिक सञ्जालमार्फत उनले विपद् कसैलाई जानकारी दिएर नआउने भन्दै आफूले सकेको सहयोग गरेको बताएका छन् ।
अनमोलले रकमको आकारभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारले उपलब्ध गराएको आधिकारिक क्यूआरमार्फत सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
यसैगरी, महजोडीलगायत अन्य कलाकारहरू पनि भोटेकोसी बाढीबाट प्रभावित नागरिकको सहयोगमा जुट्ने क्रम बढेको छ । विपद्को समयमा कलाकारहरूले आर्थिक सहयोगसँगै सामाजिक सञ्जालमार्फत राहत तथा उद्धार अभियानमा साथ दिन अपिल गरिरहेका छन् ।
बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि अहिले सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ । कलाकारहरूको सक्रियताले पनि विपद्मा प्रभावितलाई सहयोग गर्न थप नागरिकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd