कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको नेपाली चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ अहिले देशभर प्रदर्शन भइरहेको छ। निर्देशक अविनाश विक्रम शाहको यो चलचित्रले प्रदर्शनको सुरुवातदेखि नै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको प्रिमियर तथा हल प्रदर्शनमा पुगेका दर्शकले यसको विषयवस्तु, प्रस्तुति र कथ्य शैलीको प्रशंसा गरेका छन्। फरक स्वाद र गहिरो अर्थ बोकेको सिनेमा रुचाउने दर्शकका लागि ‘तिनीहरू’ विशेष रोजाइ बन्न सक्ने प्रतिक्रिया उनीहरूको छ।
कान्ससहित विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेका नेपाली चलचित्र नेपालमा चल्दैनन् भन्ने भाष्यप्रति निर्देशक शाह भने असहमत छन्। उनका अनुसार पछिल्ला वर्षमा नेपाली फेस्टिभल फिल्मले घरेलु बक्स अफिसमा गरेको प्रदर्शनले नै उक्त धारणा गलत रहेको पुष्टि गर्छ।
उनले नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र मीन भाम निर्देशित ‘शाम्बाला’लाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा ४ करोड १९ लाख ९० हजार ३५९ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने ‘शाम्बाला’ले २ करोड १२ लाख २२ हजार ३५१ रुपैयाँ कमाएको थियो। निर्देशक शाहले घरेलु बक्स अफिसमा राम्रो प्रदर्शन गरेको ‘कालो पोथी’लाई समेत स्मरण गरेका छन्।
शाहका अनुसार फेस्टिभलमा पुगेका चलचित्र ब्लकबस्टर नबने पनि दर्शकले रुचाउन सक्छन्। आर्ट बेसका चलचित्रले कथा भन्ने शैलीमा केही फरकपन बोकेका कारण तिनलाई परम्परागत व्यावसायिक चलचित्रसँग मात्रै तुलना गर्न नहुने उनको तर्क छ।
‘तिनीहरू’ले पनि फेस्टिभल फिल्म चल्दैन भन्ने धारणा तोड्न सक्ने सम्भावना रहेको उनी बताउँछन्। यद्यपि, त्यसका लागि दर्शकको साथ आवश्यक हुने उनको भनाइ छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
अविनाश विक्रम शाहको पटकथा रहेको चलचित्रको कथा शाह र सन्दीप बादलले लेखेका हुन्। नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्रका निर्माता नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd