यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ यतिबेला चर्चाको केन्द्रमा छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै कथा, पात्र र कलाकारको अभिनयलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। त्यसमध्ये अभिनेता सुशान्त कार्कीको प्रहरी अवतारले विशेष ध्यान खिचेको छ।
चलचित्रमा सुशान्त ‘एंग्री योङ पुलिस अफिसर’को भूमिकामा प्रस्तुत हुँदैछन्। उनको आक्रामक हाउभाउदेखि शारीरिक बनोटसम्मले ट्रेलरमा छुट्टै प्रभाव छाडेको देखिन्छ। यही कारण अहिले सुशान्तको यो नयाँ अवतारलाई लिएर चर्चा चुलिएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा सुशान्तलाई उनको आकर्षक र मस्कुलर लुक्सको रहस्यबारे प्रश्न गरिएको थियो। जवाफमा उनले भूमिका विश्वसनीय बनाउन आफूले निकै कडा मेहनत गरेको बताए। अझ रोचक कुरा, सुटिङका क्रममा शरीर मेन्टेन गर्न आफूले नुन र पानीसमेत त्यागेको उनले खुलासा गरे।
भूमिकाका लागि सुशान्तले गरेको शारीरिक तयारी पछिल्ला दिनमा सार्वजनिक गरिएका तस्बिर तथा भिडियोमा पनि देखिन्छ। जिममा पसिना बगाइरहेका उनका दृश्यले प्रहरी पात्रका लागि उनले गरेको मेहनतलाई प्रस्ट पार्छ। पर्दामा कडा र फिट प्रहरीको चरित्रलाई प्रभावशाली बनाउन उनले आफ्नो लुक्समा विशेष ध्यान दिएका छन्।
‘बेहुली’मा सुशान्तको चरित्र एक्सन र ड्रामासँग जोडिएको छ। त्यसैले उनको ‘एंग्री’ र ‘रफ एन्ड टफ’ प्रस्तुति चलचित्रको आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
यसअघि विभिन्न प्रकारका भूमिकामा देखिँदै आएका सुशान्तका लागि ‘बेहुली’ एउटा फरक अनुभव बन्ने देखिन्छ। विशेषगरी लभर ब्वाई शैलीका भूमिकामा दर्शकले रुचाएका उनलाई यसपटक खाकी बर्दीमा आक्रामक शैलीमा देख्न पाइनेछ। यसले उनको अभिनय क्षमतालाई नयाँ कोणबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
शशान कँडेलको निर्देशन तथा चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको ‘बेहुली’का निर्माता प्रताप शमशेर राणा हुन्। चलचित्रमा सुशान्त कार्कीसँगै पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सरिता गिरी, कर्मा लामा, सन्तोष बानिया, पदम तामाङलगायत कलाकारको अभिनय छ।
पारिवारिक ड्रामा, रोमान्स र एक्सनलाई मिश्रण गरिएको चलचित्र भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ। अब सुशान्तको मेहनतबाट तयार भएको यो नयाँ प्रहरी अवतारले पर्दामा दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासोको विषय बनेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd