logo

२०८३ भाद्र २६ शुक्रबार

बेहुली’को पहिलो दिनमै उत्साहजनक सुरुवात, हलमा दर्शकको बाक्लो उपस्थिति

बेहुली’को पहिलो दिनमै उत्साहजनक सुरुवात, हलमा दर्शकको बाक्लो उपस्थिति

  • kollywood_khabar
  • शुक्रबार, २६ भाद्र २०८३
26
SHARES
बेहुली’को पहिलो दिनमै उत्साहजनक सुरुवात, हलमा दर्शकको बाक्लो उपस्थिति

बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ। अग्रिम टिकट बुकिङदेखि देखिएको दर्शकको चासो शुक्रबार हलसम्म आइपुग्दा उल्लेख्य भीडमा परिणत भएको हो।

देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म ‘बेहुली’ हेर्न दर्शकको बाक्लो उपस्थिति देखिएको छ। चलचित्र प्रदर्शन भइरहेका हलहरूमा दर्शकको प्रतिक्रिया पनि सकारात्मक देखिएको निर्माण पक्षले जनाएको छ। कतिपय दृश्यमा दर्शक खुलेर हाँसेका छन् भने भावुक प्रसंगमा हलको वातावरण नै गम्भीर बनेको देखिएको छ।

दर्शकको प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्न चलचित्रका कलाकारहरू पनि विभिन्न हलमा पुगेका छन्। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, प्रहरीको भूमिकामा देखिएका सुशान्त कार्की, कमेडियन पदम तामाङ र सन्तोष बानियालगायत कलाकार हल पुग्दा दर्शकले हुटिङ र तालीमार्फत स्वागत गरेका थिए।

पर्दामा देखिरहेका कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा दर्शक उत्साहित देखिएका थिए भने आफ्नो फिल्मप्रति दर्शकले देखाएको मायाले कलाकारहरू पनि उत्साहित बनेका छन्।

‘बेहुली’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजसहित आइएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायत देशभरका हलमा सयभन्दा बढी शो पाएको थियो। पहिलो दिन हलमा देखिएको दर्शकको चाप र प्राप्त प्रतिक्रियाले चलचित्रको व्यापारलाई लिएर निर्माण तथा वितरण पक्ष आशावादी बनेको छ।

वितरक गोविन्द शाहीले दर्शकको बढ्दो चापलाई आधार मान्दै ‘बेहुली’ले अपेक्षाअनुसार राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्। दर्शकको माग बढ्दै गए आगामी दिनमा चलचित्रको शो संख्या थपिने सम्भावना रहेको पनि उनले बताएका छन्।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’ले प्रेम, पारिवारिक सम्बन्ध र मित्रतालाई कथाको केन्द्रमा राखेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्मित चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको पनि अभिनय छ।

अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रले पहिलो दिनमै देखाएको दर्शकको उत्साहले आगामी दिनमा यसको व्यापार थप बलियो बन्ने संकेत गरेको छ।


शुक्रबार, २६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go