हरितालिका तीजको अवसरमा नेपाली चलचित्र ‘बेहुली’ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरेको छ। सोमबार देशभर करिब डेढ सय शो पाएको चलचित्रले तीजको एकै दिन ७० देखि ८० लाख रुपैयाँसम्म ग्रस कलेक्सन गर्ने अनुमान वितरक गोविन्द शाहीले गरेका छन्।
पूर्वदेखि पश्चिमसम्मका अधिकांश हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको निर्माण पक्षले जनाएको छ। चलचित्र हेरेका दर्शकबाट कलाकारको अभिनय तथा कथावस्तुलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको छ। यही कारण आगामी दिनमा ‘बेहुली’को व्यापार अझ उकालो लाग्ने अपेक्षा गरिएको छ।
सङ्गीतकारका रूपमा लामो समयदेखि लोकप्रिय अर्जुन पोखरेलले ‘बेहुली’मार्फत पहिलोपटक फिल्म निर्माणमा हात हालेका हुन्। उनले स्वतन्त्र रूपमा सङ्गीत सिर्जना गर्दाको अनुभवभन्दा चलचित्र निर्माणमा आर्थिक जोखिम र दबाब निकै बढी महसुस भएको बताएका छन्। तर, दर्शकबाट प्राप्त माया र करिब ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफ्नो निर्णयप्रति थप उत्साहित बनाएको उनको भनाइ छ।
दर्शकको प्रतिक्रियाबाट हौसिएका पोखरेलले अब हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने योजना समेत सार्वजनिक गरेका छन्। उनका अनुसार आगामी मङ्सिरमा नयाँ चलचित्रको घोषणा गर्ने तयारी छ भने २०८४ सालमा ‘बेहुली’को दोस्रो श्रृंखला दर्शकमाझ ल्याउने योजना बनाइएको छ।
यसैबीच ‘बेहुली’का कलाकार तथा निर्देशकको टोली दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि चितवन पुगेको छ। मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोलीले चितवनका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ।
सामाजिक यथार्थ, युवा पुस्ताको मनोभाव र पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई कथाको केन्द्रमा राखिएको चलचित्रलाई माधव शर्माले लेखेका हुन् भने निर्देशन शशान कँडेलले गरेका छन्।
चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् भने प्रताप शमशेर राणा निर्माता रहेका छन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd