आमा भनेको त्यस्तो घर हो, जहाँ फर्किन मन लाग्छ’ भन्ने मर्मस्पर्शी भावलाई केन्द्रमा राख्दै चलचित्र ‘आ बाट आमा २’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर सोमबार सार्वजनिक पोस्टरले चलचित्रको कथाको झल्को दिन खोजेको छ।
पोस्टरमा विपना थापा, पल शाह र साइग्रेस पोखरेललाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। तीनै कलाकारको हाउभाउमा खुसीदेखि पीडा र हाँसोदेखि आँसुसम्मका विभिन्न भाव देखिन्छन्।
ग्रामीण परिवेश झल्किने पृष्ठभूमिसहित तयार पारिएको पोस्टरमा पासपोर्ट, आकाशमा उडिरहेको विमान, चर्किएको घरको भित्ता र फुटेका फोटो फ्रेमजस्ता दृश्य समावेश छन्। यी संकेतले चलचित्रको कथा वैदेशिक रोजगारीसँगै त्यसले परिवारमा निम्त्याउने दूरी, विग्रह र भावनात्मक उतारचढावमा केन्द्रित रहेको देखाउँछ।
त्यसैगरी दाजुभाइबीचको आत्मीयता र पारिवारिक खुसीलाई पनि पोस्टरमा स्थान दिइएको छ। लिङ्गे पिङ र निधारमा टीका लगाएका पात्रका दृश्यले दशैंको परिवेशलाई समेत कथासँग जोडिएको संकेत गर्छ।
द्वन्द्व निर्देशकका रूपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा विपना थापा, पल शाह र साइग्रेस पोखरेलसँगै स्वर्गीय भारतीय अभिनेता प्रदीप रावत, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ। ‘गजनी’का चर्चित भिलेन प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र हो।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन पनि चन्द्र पन्तले गरेका हुन्। साहिल खान र मिलन श्रेष्ठ सम्पादनमा छन्। नेपाल तथा बेलायतमा छायांकन गरिएको चलचित्रको हङकङ र क्रोएसियालगायतका मुलुकमा प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।
दशैंलाई लक्षित गर्दै असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘आ बाट आमा २’को पहिलो श्रृंखलाले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। अब दोस्रो भागले पहिलो फिल्मको सफलतालाई कत्तिको निरन्तरता दिन्छ भन्ने चासो दर्शकमाझ देखिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd