गायक तथा संगीतकार टंक बुढाथोकीको पछिल्लो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला कलाकार अशोक दर्जीले भने यस विषयलाई विवाद नबनाउन आग्रह गरेका छन्।
अशोकले सामाजिक सञ्जालमार्फत टंकप्रति भइरहेको आलोचना र गालीगलौजप्रति असन्तुष्टि जनाउँदै उनलाई नराम्रो नबनाइदिन आफ्ना प्रशंसक तथा दर्शकसँग अनुरोध गरेका हुन्।
टंकलाई आफूले जन्म दिने बुबा नभए पनि जीवनमा कर्म र अवसर दिने अभिभावकका रूपमा हेर्ने गरेको अशोकले बताएका छन्। आफ्ना सन्तानबारे अभिभावकले बोल्न पाउने अधिकार हुने भन्दै उनले टंकको अभिव्यक्तिलाई लिएर विवाद बढाउन नहुने बताएका छन्।
अशोकले आफू अहिले चलचित्र **‘पार्वती’**को प्रचारमा व्यस्त रहेको उल्लेख गर्दै व्यक्तिगत सम्बन्धसँग जोडिएको विषयलाई अनावश्यक विवाद नबनाउन आग्रह गरेका छन्।
उनले टंकलाई ‘पार्वती’ हेरेर आफू र निता ढुंगानाको अभिनयबारे प्रतिक्रिया दिनसमेत अनुरोध गरेका छन्। टंकलाई भगवान् र गुरुसरह मान्ने गरेको उल्लेख गर्दै अशोकले उनीप्रतिको सम्मान र आत्मीयता कायमै रहेको सन्देश दिएका छन्।
यसैबीच, अशोकको अभिनय रहेको ‘पार्वती’ चौथो सातामा प्रदर्शन भइरहेको छ। चलचित्रको प्रचारका क्रममा उनी पूर्वी नेपाल पुगेका छन्। उनले दर्शकलाई नजिकैको हलमा पुगेर चलचित्र हेर्न र आफ्नो प्रतिक्रिया दिन आग्रह गरेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd