जितु नेपाल मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘कार्की साइँला’ शुक्रबार अर्थात् असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुला गरिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको सुरुवाती चरणमै देशभरका हलबाट ६० भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ। दर्शकको माग बढ्दै गए थप शो उपलब्ध गराइने निर्देशक बस्नेतको भनाइ छ।
चलचित्रमा जितु नेपाल ‘कार्की साइँला’को भूमिकामा छन् भने प्रियना आचार्य ‘मुन्नी’को भूमिकामा देखिएकी छन्। भरियाको जीवन, पारिवारिक सुख–दुःख, विवाह, सन्तानको चाहना, गाउँघरमा हुने विभेद तथा दोस्रो विवाहजस्ता विषयलाई कथाको केन्द्रमा राखिएको छ।
सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारको पनि अभिनय रहेको छ।
बालकुमार राईको लगानी तथा कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको चलचित्रको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन्। धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायत स्थानमा छायांकन गरिएको फिल्मको संगीत दिप्सन लिम्बु र संकेत अगस्थीले तयार गरेका छन्।
चलचित्रको ‘लग्यौ परान’ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ। नेपालभर फिल्मको वितरण कुबेर फिल्मस्ले गर्नेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd