चलचित्र बेहुली’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै दोस्रो हप्ताको यात्रा थालेको छ । प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार चलचित्रले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।
प्राप्त व्यावसायिक रिपोर्टलाई आधार मान्दा ‘बेहुली’को यो कलेक्सन पछिल्लो समय प्रदर्शनमा आएका तथा त्यसअघि रिलिज भएका केही चलचित्रको तुलनामा समेत उच्च रहेको निर्माण पक्षको दाबी छ । दोस्रो हप्तामा प्रवेश गर्दा पनि देशभरका हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको बताइएको छ ।
चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी अहिले दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि विभिन्न हलमा पुगिरहेका छन् । हल भ्रमणका क्रममा कलाकारले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । दर्शकको प्रतिक्रियाले चलचित्रको दोस्रो साताको प्रदर्शनलाई थप ऊर्जा दिएको निर्माण पक्षको भनाइ छ ।
नेपालमा राम्रो प्रतिक्रिया पाइरहेको ‘बेहुली’ विदेशमा पनि प्रदर्शनमा आएको छ । चलचित्र अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।
समाजको यथार्थता, युवा पुस्ताको मनोभाव र पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई कथाको केन्द्रमा राखिएको चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ ।
माधव शर्माको लेखन रहेको चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् । अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd