वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालनी गरेको हो ।
शुभमुहूर्त कार्यक्रममा चलचित्रका अधिकांश कलाकार तथा निर्माण टिमको सहभागिता थियो । फिल्मको छायांकन काठमाडौंसहित पाँचखाल र पनौतीमा गरिने निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् ।
छायांकनसँगै निर्माण पक्षले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । चलचित्र आगामी चैत ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
निर्देशक चाम्सले दर्शकले आफ्नो अघिल्लो चलचित्र ‘अञ्जिला’लाई दिएको मायाजस्तै ‘म मदनकृष्ण’लाई पनि दर्शकले रुचाउने अपेक्षा व्यक्त गरे । उनका अनुसार मदनकृष्ण श्रेष्ठको जीवनमा संघर्ष, सफलता र अनुभवका अनेक पाटा रहेकाले ती पक्षलाई पर्दामा प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास हुनेछ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिँदैछन् । त्यस्तै केकी अधिकारीले उनकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णका कलाक्षेत्रका सहयात्री तथा ‘मह जोडी’का अर्का सदस्य हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री प्रस्तुत हुनेछन् । अरुणको जोडीका रूपमा वर्षा राउत रहनेछिन्, जसले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निभाउनेछिन् ।
मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत उनका जीवनका महत्वपूर्ण घटनालाई चलचित्रमा समेटिने निर्माण पक्षले जनाएको छ । सुख–दुःख, संघर्ष र जीवनका विभिन्न आरोह–अवरोहलाई केन्द्रमा राखेर बायोपिक तयार गरिँदैछ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको चलचित्रलाई राजकुमार श्रेष्ठले निर्माण गर्दैछन् । ‘म मदनकृष्ण’को निर्देशन मिलन चाम्सले गरेका हुन् । चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए ।
चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर आरआर फिल्म्सले वितरण गर्नेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd