logo

२०८३ असोज ३० शुक्रबार

‘म मदनकृष्ण’को छायांकन सुरु

‘म मदनकृष्ण’को छायांकन सुरु

156
SHARES
‘म मदनकृष्ण’को छायांकन सुरु

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालनी गरेको हो ।

शुभमुहूर्त कार्यक्रममा चलचित्रका अधिकांश कलाकार तथा निर्माण टिमको सहभागिता थियो । फिल्मको छायांकन काठमाडौंसहित पाँचखाल र पनौतीमा गरिने निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् ।

छायांकनसँगै निर्माण पक्षले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । चलचित्र आगामी चैत ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

निर्देशक चाम्सले दर्शकले आफ्नो अघिल्लो चलचित्र ‘अञ्जिला’लाई दिएको मायाजस्तै ‘म मदनकृष्ण’लाई पनि दर्शकले रुचाउने अपेक्षा व्यक्त गरे । उनका अनुसार मदनकृष्ण श्रेष्ठको जीवनमा संघर्ष, सफलता र अनुभवका अनेक पाटा रहेकाले ती पक्षलाई पर्दामा प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास हुनेछ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिँदैछन् । त्यस्तै केकी अधिकारीले उनकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णका कलाक्षेत्रका सहयात्री तथा ‘मह जोडी’का अर्का सदस्य हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री प्रस्तुत हुनेछन् । अरुणको जोडीका रूपमा वर्षा राउत रहनेछिन्, जसले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निभाउनेछिन् ।

मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत उनका जीवनका महत्वपूर्ण घटनालाई चलचित्रमा समेटिने निर्माण पक्षले जनाएको छ । सुख–दुःख, संघर्ष र जीवनका विभिन्न आरोह–अवरोहलाई केन्द्रमा राखेर बायोपिक तयार गरिँदैछ ।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको चलचित्रलाई राजकुमार श्रेष्ठले निर्माण गर्दैछन् । ‘म मदनकृष्ण’को निर्देशन मिलन चाम्सले गरेका हुन् । चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए ।

चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर आरआर फिल्म्सले वितरण गर्नेछ ।


शुक्रबार, २ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go