मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ बाट नेपालभरका हलमा रिलिज गर्ने घोषणा गरेको हो ।
नयाँ पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका मुख्य पात्र पुन्य चौलागाईँको अवतारमा देखाइएको छ । ढाका टोपी, बाक्लो जुँगा र चस्मासहित परम्परागत पहिरनमा घोडा चढेका विजयको अगाडि–पछाडि पंखा बोकेर हिँडिरहेका पात्रहरू देखिन्छन् । पोस्टरको यो रोचक संयोजनले चलचित्रको हास्य र व्यङ्ग्यात्मक पक्षलाई संकेत गर्छ ।
‘जिरो डिग्री’को कथा सडक सुविधा सहज रूपमा नपुगेको विकट गाउँमा आधारित छ । आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान घर नफर्किएसम्म शव सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ पुर्याउने क्रममा उत्पन्न हुने घटनाक्रमलाई चलचित्रले हास्यपूर्ण शैलीमा प्रस्तुत गर्नेछ । यसअघि सार्वजनिक पोस्टरमा गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्य देखाइएको थियो ।
सजन काफ्ले र आकास बरालले चलचित्रको कथा तथा पटकथा लेखेका छन् भने निर्देशन पनि उनीहरूकै संयुक्त रहेको छ । चर्चित चलचित्र ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीले दोस्रोपटक सहकार्य गर्दै ‘जिरो डिग्री’ तयार पारेका हुन् ।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बरालसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकारको अभिनय छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।
‘जिरो डिग्री’को वितरण काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले गर्नेछ । चलचित्र माघ १५ गतेदेखि दर्शकमाझ आउने तयारीमा छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd