logo

२०८३ असोज ३० शुक्रबार

‘जिरो डिग्री’को माघ १५ गते

‘जिरो डिग्री’को माघ १५ गते

169
SHARES
‘जिरो डिग्री’को माघ १५ गते

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ बाट नेपालभरका हलमा रिलिज गर्ने घोषणा गरेको हो ।

नयाँ पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका मुख्य पात्र पुन्य चौलागाईँको अवतारमा देखाइएको छ । ढाका टोपी, बाक्लो जुँगा र चस्मासहित परम्परागत पहिरनमा घोडा चढेका विजयको अगाडि–पछाडि पंखा बोकेर हिँडिरहेका पात्रहरू देखिन्छन् । पोस्टरको यो रोचक संयोजनले चलचित्रको हास्य र व्यङ्ग्यात्मक पक्षलाई संकेत गर्छ ।

‘जिरो डिग्री’को कथा सडक सुविधा सहज रूपमा नपुगेको विकट गाउँमा आधारित छ । आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान घर नफर्किएसम्म शव सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ पुर्‍याउने क्रममा उत्पन्न हुने घटनाक्रमलाई चलचित्रले हास्यपूर्ण शैलीमा प्रस्तुत गर्नेछ । यसअघि सार्वजनिक पोस्टरमा गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्य देखाइएको थियो ।

सजन काफ्ले र आकास बरालले चलचित्रको कथा तथा पटकथा लेखेका छन् भने निर्देशन पनि उनीहरूकै संयुक्त रहेको छ । चर्चित चलचित्र ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीले दोस्रोपटक सहकार्य गर्दै ‘जिरो डिग्री’ तयार पारेका हुन् ।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बरालसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकारको अभिनय छ ।

मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

‘जिरो डिग्री’को वितरण काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले गर्नेछ । चलचित्र माघ १५ गतेदेखि दर्शकमाझ आउने तयारीमा छ ।


मंगलबार, १३ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go