फ्रान्सको कान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’ विधामा अवार्ड जितेको छ। यो उपलब्धिलाई फिल्मको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण सफलताका रूपमा लिइएको छ।
‘रिमेम्बर द फ्युचर’ नामले समेत चिनिने यस फिल्म फेस्टिभलमा मासिक रूपमा अनलाइनमार्फत चलचित्र छनोट तथा मूल्यांकन गरिन्छ। साथै, मासिक र वार्षिक रूपमा भौतिक प्रदर्शन, रेड कार्पेट र अवार्ड समारोहसमेत आयोजना हुँदै आएको छ।
कान्समा अवार्ड जितेपछि चलचित्रका निर्देशक डा. कपिल रिजालले खुसी व्यक्त गरेका छन्। उनले यस उपलब्धिलाई ‘गौँथली’को अन्तर्राष्ट्रिय उडानका रूपमा व्याख्या गरेका छन्।
करिब २५ वर्षअघि उनका बुवा डा. भोला रिजालले निर्माण गरेको गीतिचलचित्र ‘गौँथली’को भाव र विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आफूले नयाँ संस्करण तयार पारेको निर्देशक रिजालले बताएका छन्। दर्शक तथा शुभेच्छुकबाट प्राप्त माया र साथले आफू भावुक बनेको उल्लेख गर्दै उनले यो चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई भावना, सपना र नेपाली सिनेमाप्रतिको प्रेमसँग जोडिएको यात्रा भएको बताएका छन्।
निर्देशक रिजालले प्राप्त सफलतालाई आफ्नो व्यक्तिगत उपलब्धिमा सीमित नराखी सम्पूर्ण चलचित्र टिमको जितका रूपमा लिएका छन्।
त्यस्तै, निर्माता सुमन गिरीले ‘गौँथली’ले कान्ससम्म पुगेर अवार्ड जित्नुलाई गौरवपूर्ण उपलब्धि बताएका छन्। दर्शकको माया, विश्वास र हौसलाकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै उनले यसलाई नेपाली चलचित्र र नेपाली माटोको जितका रूपमा व्याख्या गरेका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ अहिले पनि सिनेमाघरमा प्रदर्शनरत छ। प्रदर्शनको सय दिन पूरा गरिसकेको चलचित्रले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्माण पक्षको दाबी छ। यससँगै फिल्म नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा पुगेको छ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। कान्समा प्राप्त यो अवार्डले ‘गौँथली’को घरेलु सफलतासँगै अन्तर्राष्ट्रिय पहिचानलाई समेत थप बल पुर्याएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd