logo

२०८३ कार्तिक १५ शनिबार

पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक

पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक

  • kollywood_khabar
  • शनिबार, १५ कार्तिक २०८३
13
SHARES
पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकले स्वर दिएका छन् ।

शशी शर्मा मजगैयाँको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतले विवाहका लागि आफूलाई सुहाउँदो र असल जीवनसाथी खोजिरहेकी युवतीको चाहनालाई प्रस्तुत गरेको छ । क्यासिनोमा नृत्य गर्ने एक आकर्षक युवतीले घरजमका लागि योग्य युवकको खोजी गरिरहेको प्रसंगलाई गीतको मुख्य विषय बनाइएको छ ।

गीतको भिडियोमा इभा गिरी आकर्षक नृत्यसहित प्रस्तुत भएकी छन् । उनको नृत्यमा चलचित्रका प्रमुख कलाकारहरू हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले पनि साथ दिएका छन् ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ । साथै दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’लाई सामाजिक विषयवस्तुमा आधारित चलचित्रका रूपमा निर्माण गरिएको छ । लेखक पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर चलचित्रमा समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ ।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । चलचित्रमा डल्बी एटमस साउन्डको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।

अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको चलचित्रमा रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन् ।

तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो । देशव्यापी वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले लिएको छ ।


शनिबार, १५ कार्तिक २०८३
सम्बन्धित समाचार
Go