logo

२०८३ कार्तिक १५ शनिबार

चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक

चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक

  • kollywood_khabar
  • शनिबार, १५ कार्तिक २०८३
13
SHARES
चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक

चलचित्र ‘चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार चलचित्रका दुई पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा हँसिलो शैलीमा प्रस्तुत छन् । परम्परागत पहिरनमा देखिएकी प्रशंसा र क्याजुअल लुक्समा रहेका आशीर्वादको प्रस्तुतिले पोस्टरलाई आकर्षक बनाएको छ ।

पोस्टरमा हरिवंशलाई भने फरक र प्रभावशाली अवतारमा देख्न सकिन्छ । सेतो फुलेको कपाल र जुँगा, ढाका टोपी तथा परम्परागत पहिरनमा रहेका उनी सम्भ्रान्त परिवारका अभिभावकको भूमिकामा देखिने संकेत पोस्टरले गरेको छ । पृष्ठभूमिमा रहेको मन्दिर र शीर्षकसँगै देखाइएको खामले चलचित्रको धार्मिक तथा पारिवारिक पक्षलाई संकेत गरेको छ ।

दोस्रो पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य समेटिएको छ । परम्परागत दौरा सुरुवाल र ज्वारीकोटमा देखिएका हरिवंश तथा सामान्य पहिरनमा रहेका आशीर्वादको प्रस्तुतिले उनीहरूबीच बुवा–छोराको सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । पोस्टरले चलचित्रको शीर्षक ‘चिरञ्जीवी भवः’को भावनालाई समेत चित्रण गरेको छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा तयार भएको चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनको चरणमा छ ।

निर्देशक आचार्यका लागि यो दोस्रो फिचर चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘परान’ले बक्स अफिसमा उल्लेख्य सफलता हासिल गर्दै गत वर्ष सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्रको स्थान बनाएको थियो । त्यसैले उनको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’लाई दर्शकले चासोका साथ हेरिरहेका छन् ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्रमा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरि निरौला, गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ ।

कुमार कट्टेलको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा रूपान्तरण गरेका हुन् । सामाजिक विषयवस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको सोच, विचार र सम्बन्धमा आउने भिन्नतालाई मुख्य कथ्य बनाएको छ ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् । निर्देशक दीपक आचार्यले चलचित्रका लागि गीत लेखेका छन् भने गीत लेखनमा हर्क साउदले पनि सहकार्य गरेका छन् । चलचित्रमा रञ्जित गजमेरको समेत संगीत रहनेछ ।

शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रमा बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।

चलचित्रको प्रमुख सहायक निर्देशकमा रामबाबु खड्का छन् भने सहायक निर्देशकमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल रहेका छन् । प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले र प्रोडक्सन डिजाइनर विशाल न्यौपाने हुन् ।

माघ १ गते अर्थात् जनवरी १५ देखि देशभर प्रदर्शनमा आउने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यसको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।


शनिबार, १५ कार्तिक २०८३
सम्बन्धित समाचार
Go