नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकहरूको सहकार्यमा तयार भएको नयाँ गीत ‘मायालुले’ सार्वजनिक गरिएको छ । गायक आकाश सिग्देलको शब्द, संगीत र स्वर रहेको गीतको आधिकारिक म्युजिक भिडियो दर्शकमाझ ल्याइएको हो ।
प्रवासमा रहेर पनि नेपाली संगीत सिर्जनामा सक्रिय सिग्देलले आफ्नै सिर्जनामार्फत नेपाली सांगीतिक क्षेत्रसँगको सम्बन्धलाई निरन्तरता दिएका छन् । गीतको म्युजिक भिडियो डेनमार्कको राजधानी कोपनहेगनमा छायांकन गरिएको हो ।
कुन्ता न्यौपाने सिग्देल निर्माता रहेको भिडियोको निर्देशन रजनीश चौधरीले गरेका छन् । भिडियोमा कोपनहेगनमा बसोबास गर्दै आएका प्रदीप्ति पोखरेल, टाइगर सुवेदी (बाबिन) र सबित काफ्लेले अभिनय गरेका छन् । विकल थापाले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर संयोजन रिषन महर्जनले गरेका हुन् ।
गीतको भोकल रेकर्डिङ तथा साउन्ड व्यवस्थापन डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा गरिएको हो । यसमा क्रिस्टियन डाल्सगार्डले प्राविधिक जिम्मेवारी सम्हालेका छन् भने गीतको संगीत उत्पादन पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको छ ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विनोद रसाइलीले गरेका छन् । वाद्यवादनमा सुमन तामाङले गितार, नगेन्द्र विक्रम राईले बाँसुरी, बोबी दियालीले भायोलिन, आशिम गुरुङले बेस गितार र गुप्ता गुरुङले ड्रम्स बजाएका छन् ।
नेपाल र डेनमार्कका सिर्जनात्मक जनशक्तिलाई एउटै परियोजनामा जोड्दै तयार गरिएको ‘मायालुले’ले प्रवासमा नेपाली संगीतको विस्तार र सहकार्यको सम्भावनालाई उजागर गरेको छ । विदेशमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई संगीतमार्फत निरन्तरता दिने प्रयासका रूपमा यस गीतलाई हेरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd