logo

२०८३ भाद्र २९ सोमबार

‘महाभारत’ मञ्चन सुरु

‘महाभारत’ मञ्चन सुरु

663
SHARES
‘महाभारत’ मञ्चन सुरु

‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ । ‘महाभारत’मा हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकारहरू पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् ।
भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन् । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।

आजदेखि असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे पनि हुनेछ । नाटक कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ । ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीहरूले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन् । कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकहरूले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन् ।

रेखा थापा, जीवन लुईंटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारहरूलाई स्टेज थिएटरमा डेब्यु गराइसकेको यस थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । यी नाटकमार्फत कान्तिपुर थिएटरले आफ्नो छुट्टै दर्शक वर्ग निर्माण गरिसकेको छ । ‘महाभारत’मा पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास थिएटरले लिएको छ । ‘महाभारत’पछि कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।


बिहिबार, १४ जेष्ठ २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go