विशुद्ध हास्यव्यङ्ग्यमा आधारित नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ को निर्माण औपचारिक रूपमा सुरु भएको छ। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको शुभमुहूर्त वैदिक विधिअनुसार पूजाआजासहित सम्पन्न गरिएको हो।
निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न कार्यक्रममा मुहूर्त शट दिँदै चलचित्रको निर्माण यात्रा सुरु गरिएको जानकारी दिइयो। निर्माण पक्षका अनुसार चलचित्रको नियमित छायाङ्कन असार २९ गतेदेखि सुरु हुनेछ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा निर्माण हुन लागेको चलचित्रको निर्देशन समीरले गर्नेछन्। कार्यक्रममा निर्देशक समीरले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने उद्देश्यसहित चलचित्र तयार पार्न लागिएको बताए। निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले सम्पूर्ण परिवारले सँगै बसेर मनोरञ्जन लिन सक्ने गुणस्तरीय कमेडी फिल्म बनाउने लक्ष्य रहेको उल्लेख गरे।
कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजमा घट्ने रमाइला, व्यङ्ग्यात्मक र ठट्यौला घटनालाई पर्दामा जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए।
चलचित्रबाट ‘दले दाइ’का नामले लोकप्रिय कमेडियन सुमन कोइरालाले अभिनयमा पहिलो पाइला चाल्दैछन्। उनीसँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रका सह-निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।
प्राविधिक टिमतर्फ विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्कीको सङ्गीत तथा गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको संयुक्त पटकथा तथा संवाद रहनेछ। करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरको जिम्मेवारीमा छन्।
त्यस्तै, प्रदीप लामा र सियोन श्रेष्ठले नृत्य निर्देशन गर्नेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार गर्नेछन्। मेकअपमा दिलमाया रोका, हेयर स्टायलमा अप्सरा कुँवर र कस्ट्युम डिजाइनमा रीजुन प्रधान रहनेछन्।
मुहूर्त समारोहसँगै निर्माण पक्षले चलचित्रलाई नेपाली दर्शकमाझ फरक स्वादको हास्यव्यङ्ग्यात्मक मनोरञ्जनका रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd