साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’ रिलिजअघि नै दर्शकमाझ चर्चाको विषय बनेको छ। विशेषगरी केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुल्दै युट्युबमा उल्लेखनीय सफलता हासिल गरेको छ।
रिलिज भएको पाँच दिनमै ट्रेलरले ७ लाख ३० हजारभन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबको मुभी ट्रेन्डिङको पहिलो स्थानमा उक्लिएको छ। सामाजिक सञ्जालमा पनि ट्रेलरको चर्चा बढेसँगै चलचित्रप्रति दर्शकको उत्सुकता उल्लेख्य रूपमा बढेको देखिन्छ।
‘गौँथली’ नाम नेपाली चलचित्र क्षेत्रमा नयाँ भने होइन। दुई दशकअघि डा. भोला रिजालले यही शीर्षकमा निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति चलचित्र’ (म्युजिकल फिल्म) मानिन्छ, जसले प्रदर्शनका क्रममा ५१ दिन पूरा गरेको थियो। यसपटक भने सोही नामलाई नयाँ पुस्तासामु निर्देशक डा. कपिल रिजालले फरक कथावस्तुसहित प्रस्तुत गर्दैछन्।
ट्रेलरले ग्रामीण परिवेशमा हुर्किएकी ‘गौँथली’ नामकी युवतीको शिक्षा प्राप्त गर्ने सपना र त्यसका लागि उनले सामना गर्नुपरेका सामाजिक तथा पारिवारिक अवरोधलाई केन्द्रमा राखेको छ। पढाइमा अब्बल रहेकी गौँथलीलाई उच्च शिक्षा दिलाउने शिक्षकको सपना बालविवाहका कारण अधुरै बन्न पुग्छ।
विवाहपछि उनको जीवनमा आउने संघर्ष, परम्परागत सोचसँगको टकराव र शिक्षाका लागि गरिएको प्रयास ट्रेलरको मुख्य विषय बनेको छ। पुस्तक जलाइनेदेखि पढ्न नदिने अवस्थासम्मका दृश्यहरूले समाजमा अझै विद्यमान कुरीतिलाई चित्रण गरेका छन्।
चलचित्रमा अभिनेत्री सिम्रन खड्काले शीर्ष भूमिकालाई प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन् भने अभिनेता अरुण क्षेत्रीको फरक शैलीको पात्रले पनि दर्शकको ध्यान तानेको छ। सरल, निष्कपट र सहयोगी चरित्रमा देखिएका अरुणले कथालाई नयाँ आयाम दिने संकेत ट्रेलरबाटै दिएका छन्।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सन्देशलाई मुख्य विषय बनाएको चलचित्रले पहाडी गाउँको सामाजिक यथार्थलाई पर्दामा उतारेको छ। त्यसैले मनोरञ्जनसँगै सामाजिक चेतना पनि दिने चलचित्रका रूपमा ‘गौँथली’लाई धेरैले अपेक्षाका साथ हेरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको पनि अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र निर्देशक डा. कपिल रिजाल निर्माता रहेका छन्। कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवादमा डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको चलचित्रले प्रदर्शनअघि नै बलियो माहोल बनाउन सफल भएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd