अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ को प्रदर्शन मितिबारेको अन्योल अन्त्य भएको छ। यसअघि साउन २९ गते रिलिज हुने चर्चा चले पनि अब फिल्म आगामी असोज ९ गते, विजयादशमी (दशैं) लक्षित गर्दै प्रदर्शनमा आउने तयारीमा छ।
निखिलले असोज ९ रोज्नुको पछाडि स्पष्ट रणनीति देखिन्छ। रिलिजको करिब तीन सातापछि दशैंको लामो बिदा सुरु हुने भएकाले फिल्मले सकारात्मक वर्ड अफ माउथ पाएमा चाडपर्वको भीडबाट राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। यसले फिल्मलाई हलमा लामो समय टिकाउने सम्भावना पनि बढाउने विश्वास निर्माण टिमको छ।
सुरुआतमा साउनमै फिल्म ल्याउने तयारी भए पनि ग्राफिक्स, ब्याकग्राउन्ड स्कोर र पोस्ट-प्रोडक्सनका केही काम बाँकी रहेकाले प्रदर्शन मिति सारिएको स्रोतको भनाइ छ। यतिबेला काठमाडौंमा केही महत्वपूर्ण दृश्यहरूको छायांकन समेत भइरहेको बताइएको छ। निर्माण टिमले फिल्मलाई भव्य स्केलमा तयार पारेको जनाएको छ।
‘आचार्य’मार्फत निखिल उप्रेती करिब ११ वर्षपछि निर्देशनमा पुनरागमन गर्दैछन्। उनले यसअघि सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए। अभिनेत्री सञ्चिता लुइँटेलको निर्माण रहेको यस फिल्ममा निखिल उप्रेती, पूर्णिका सिन्जापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया तथा भारतीय कलाकार दीपराज राणासहितका कलाकारहरूको अभिनय रहनेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd