आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता सिर्जना गरेको छ।
सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेको दृश्य देखाइएको छ। यसले आमा–सन्तानबीचको आत्मीय सम्बन्ध, प्रेम, त्याग र भावनात्मक संघर्षलाई केन्द्रमा राखिएको कथाको झल्को दिन्छ। मनोवैज्ञानिक र पारिवारिक कथावस्तुमा आधारित फिल्म भएकाले पोस्टरले नै फरक स्वादको अनुभूति गराएको छ।
चलचित्र साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक *‘कोही किन बर्बाद होस्’*बाट प्रेरित छ। फिल्ममा निर्देशक निर शाह स्वयंका साथै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक संवेदनालाई केन्द्रमा राखेर नयाँ शैलीको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। यसअघि उनले वासुदेव, पच्चीस बसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघजस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेका छन्।
फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा लेखेका हुन्। प्राविधिक टिममा शिवराम श्रेष्ठ (छायांकन), मिलन विक्रम शाह (सम्पादन), युग भुसाल (संगीत), रामजी लामिछाने (कोरियोग्राफी), रेनिश फागो (रङ संयोजन), मुकेश शाह (ध्वनि मिश्रण), भोला सुवेदी (निर्माण व्यवस्थापन) र सगर बोहरा (मुख्य सहायक निर्देशन) रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd