अभिनेत्री काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकनका क्रममा आफूले मधेशी भएकै कारण जातीय तथा क्षेत्रीय विभेद, अपमान र असमान व्यवहार भोग्नुपरेको आरोप लगाएपछि निर्देशक दीपकप्रसाद आचार्यले उक्त आरोप अस्वीकार गर्दै सार्वजनिक प्रष्टिकरण दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै काजल कर्णले चलचित्रको सेटमा आफूलाई कलाकारका रूपमा सम्मान नदिइएको, मेकअप र पोशाक व्यवस्थापनदेखि छायांकनसम्म विभेदपूर्ण व्यवहार गरिएको दाबी गरेकी छन्। उनले मुख्य अभिनेत्री प्रशंसा रायमाझी, कार्यकारी निर्माता रोलेक्स क्षेत्री, हेयर स्टाइलिस्ट सञ्जिता ढकाल लगायतका व्यक्तिको नाम उल्लेख गर्दै आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएकी हुन्।
कर्णका अनुसार छायांकनस्थलमा पुगेपछि आफूलाई मेकअप रुममा प्रवेश गर्न नदिइएको, आफ्नो छालाको रङ र मधेशी पहिचानलाई लिएर टिप्पणी गरिएको तथा स्क्रिप्टमा नभएका दृश्यसमेत जबर्जस्ती गराइएको थियो। उनले कलाकारभन्दा मजदुरसरह व्यवहार गरिएको, पारिश्रमिक माग्दा बेवास्ता गरिएको र अन्तिम समयमा कुनै स्पष्ट जानकारी नदिई चलचित्रबाट हटाइएको दाबी गरेकी छन्।
उनले आफूले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतमा अभिनय गरिसकेको उल्लेख गर्दै यो घटना व्यक्तिगत मात्रै नभई नेपाली चलचित्र क्षेत्रमा मधेशी कलाकारले भोग्दै आएको विभेदको प्रतिनिधि उदाहरण भएको जिकिर गरेकी छन्। चलचित्र क्षेत्रमा सबै कलाकारले समान सम्मान र अवसर पाउनुपर्ने उनको भनाइ छ।
यता निर्देशक दीपकप्रसाद आचार्यले भने काजल कर्णले लगाएका आरोपमा सत्यता नरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रष्टिकरणमा उनले छायांकन सेटमा कुनै पनि कलाकारमाथि जातीय वा क्षेत्रीय आधारमा विभेद नगर्ने स्पष्ट पारेका छन्।
आचार्यका अनुसार काजल कर्णले आफू वा निर्माण टिमलाई छायांकनका क्रममा कुनै गुनासो नगरेको र यदि कुनै प्राविधिकबाट दुर्व्यवहार भएको पुष्टि भए तत्काल कारबाही गरिनेछ। उनले काजलले भनेजस्तो विभेद भएको प्रमाण फेला परे दोषी जोसुकै भए पनि कारबाही हुने बताएका छन्।
निर्देशक आचार्यले काजल कर्ण छायांकनका लागि तोकिएको समयभन्दा ढिलो उपस्थित भएको र अन्ततः सहायक निर्देशकमार्फत आफू नआउने जानकारी आएपछि ठूलो प्राविधिक टोलीलाई धेरैबेर पर्खाउन नसकिने भएकाले छायांकन अगाडि बढाइएको दाबी गरेका छन्। पारिश्रमिकका विषयमा पनि तेस्रो किस्ता डबिङपछि दिने सहमति रहेको जानकारी निर्माण पक्षबाट प्राप्त भएको उनको भनाइ छ।
उनले चलचित्रमा कलाकार छनोट जात, समुदाय वा क्षेत्रका आधारमा नभई पात्रको आवश्यकता अनुसार गरिएको दाबी गर्दै काजल मधेशी समुदायबाट आएको कुरा आफूले उनको स्टाटस पढेपछि मात्रै थाहा पाएको उल्लेख गरेका छन्। “हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय समुदाय छैन, एउटै समुदाय मानव समुदाय हो,” भन्दै सबै कलाकारलाई समान सम्मान गर्ने उनको भनाइ छ।
आचार्यले काजल कर्णले चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र गोबर सोहोर्ने दृश्य मात्र गराइएको भन्ने आरोप पनि असत्य रहेको दाबी गरेका छन्। उनले काजलले अभिनय गरेका विभिन्न दृश्यहरूको भिडियो फुटेज सुरक्षित रहेको उल्लेख गर्दै कलाकारले कथाअनुसार जुनसुकै भूमिका निर्वाह गर्नु अभिनयको स्वाभाविक पाटो भएको बताएका छन्।
साथै, कतिपय विषयमा गलत बुझाइ भएको हुन सक्ने भन्दै आवश्यक परे काजल कर्णसँग प्रत्यक्ष छलफल गर्न आफूहरू तयार रहेको निर्देशक आचार्यले जनाएका छन्। उनले नेपाली चलचित्र उद्योगमा सबै कलाकार समान रहेको दोहोर्याउँदै विवादभन्दा पनि राम्रो चलचित्र निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
काजल कर्णको आरोप र निर्देशक दीपकप्रसाद आचार्यको प्रष्टिकरणपछि यो विषय सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। केहीले काजलको पक्षमा समर्थन जनाउँदै चलचित्र क्षेत्रमा विभेदबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् भने अर्कोतर्फ निर्देशक आचार्यको स्पष्टीकरणलाई समर्थन गर्दै दुवै पक्षबीच संवादमार्फत विवाद समाधान गर्नुपर्ने धारणा पनि सार्वजनिक भइरहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd