साउन १ गतेदेखि नेपाली हलमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ ले अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो यात्रा अघि बढाएको छ। चलचित्रको अमेरिका प्रदर्शन अधिकार सेभेन सिस इन्टरनेसनल फिल्मस ले आधिकारिक रूपमा खरिद गरेको हो।
यससम्बन्धी सम्झौतामा निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका प्रतिनिधि रोशन सुवेदी सहभागी भएका थिए।
निर्माण पक्षका अनुसार चलचित्रको चर्चा बढेसँगै विदेशबाट प्रदर्शन अधिकार खरिद गर्न इच्छुक वितरकहरूको संख्या पनि बढिरहेको छ। निर्देशक कपिल रिजालले ट्रेलरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र बढ्दो उत्साहका कारण ओभरसिज बजारबाट निरन्तर चासो आइरहेको बताए।
नेपालमा साउन १ देखि रिलिज हुने ‘गौँथली’ साउन ८ (जुलाई २४) बाट अमेरिकाका विभिन्न प्रमुख शहरमा एकसाथ प्रदर्शन गरिने तयारी छ।
चलचित्रको ट्रेलर हाल युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेकाले पनि यसको बजार थप तातेको निर्माण टिमको विश्वास छ। यही कारण विदेशमा समेत चलचित्रलाई ठूलो स्केलमा रिलिज गर्ने योजना बनाइएको हो।
रोचक पक्ष के छ भने, दुई दशकअघि डा. भोला रिजाल ले निर्माण गरेको ‘गौँथली’ नेपाली चलचित्र इतिहासकै पहिलो गीति चलचित्र (म्युजिकल फिल्म) मध्ये एक मानिन्छ। अहिले सोही नामलाई नयाँ पुस्तासामु पुनर्जीवित गर्दै उनका छोरा डा. कपिल रिजाल ले नयाँ संस्करण निर्देशन गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिनेछन्।
चलचित्रको कथा डा. भोला रिजाल को हो भने पटकथा तथा संवादमा डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरे ले सहकार्य गरेका छन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रबाट निर्माण टिमले स्वदेशसँगै विदेशमा पनि उत्साहजनक व्यापारको अपेक्षा गरेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd