logo

२०८३ भाद्र २९ सोमबार

‘हजारौँमा एक’ निर्माण हुने

‘हजारौँमा एक’ निर्माण हुने

728
SHARES
‘हजारौँमा एक’ निर्माण हुने

नेपाली चलचित्र उद्योगमा अर्को महत्वाकांक्षी परियोजनाको घोषणा भएको छ। निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको संयुक्त ब्यानरमा एक्सन–एड्भेन्चर जनरामा आधारित नयाँ चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको हो।

रहस्य, अलौकिक कल्पना र साहसिक यात्रालाई मुख्य विषयवस्तु बनाइएको चलचित्रले उत्कृष्ट दृश्य प्रस्तुति र आधुनिक प्रविधिमार्फत फरक सिनेमाटिक अनुभव दिने निर्माण टिमको दाबी छ। नेपाली फिल्ममा नयाँ स्तर स्थापित गर्ने लक्ष्यका साथ यो परियोजना अघि बढाइएको बताइएको छ।

चलचित्रको निर्देशन सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले गर्नेछन्। कथाको परिकल्पना सीता मायाले गरेकी हुन्, जो चलचित्रकी प्रस्तुतकर्ता समेत हुन्। दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताका रूपमा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाईले डिओपीको जिम्मेवारी सम्हाल्नेछन्।

नेपाली भाषामा निर्माण हुने यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै हिन्दी र मलियालम भाषामा पनि डब गरिने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्रका मुख्य अभिनेता मलियालम फिल्म उद्योगसँग आबद्ध छन्। उनको परिचय भने चलचित्रको आधिकारिक फर्स्ट लुक सार्वजनिक गर्दा खुलाइनेछ। साथै, मलियालम फिल्म उद्योगका केही कलाकार र प्राविधिक पनि यस परियोजनामा सहभागी हुने निर्देशक आचार्यले जानकारी दिएका छन्।

चलचित्रको पटकथालाई नेपाली परिवेशअनुसार ढाल्ने जिम्मा लेखक शान बस्नेतले लिएका छन्। छायाङ्कन आगामी फागुन–चैतदेखि सुरु गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

मुख्य कलाकारदेखि अधिकांश प्राविधिक टोली नेपाली नै रहने बताइएको छ। चलचित्रको गीत–संगीत पनि नेपाली सर्जकहरूले नै तयार गर्नेछन्।

झन्डै चार करोड रुपैयाँको लगानीमा निर्माण हुने ‘हजारौँमा एक’ नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा छायाङ्कन गरिनेछ। एक्सन, रहस्य, अलौकिक कथा र आधुनिक प्रविधिको संयोजनमार्फत स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय दर्शकलाई समेत आकर्षित गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go