नेपाली फिल्म ‘गौँथली’ आज (साउन १)देखि देशभर प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिनमै फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग भेटघाट गरेका फिल्मका निर्माता, निर्देशक र कलाकारले दर्शकको उत्साहजनक साथ पाएको बताएका छन्।
फिल्म हेरेपछि अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरूको सशक्त अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा उल्लेख्य दर्शक उपस्थिति देखिएको थियो। प्रदर्शनपछि धेरै दर्शक भावुक बनेका थिए। ‘गौँथली’ पात्रले भोगेको संघर्ष र छोरीको शिक्षाको महत्वलाई फिल्मले प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया उनीहरूले दिएका छन्।
निर्देशक डा. कपिल रिजालले पहिलो दिन प्राप्त दर्शक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताए। उनका अनुसार बिहानदेखि नै विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद भइरहेको छ र फिल्मले दिन खोजेको सन्देश दर्शकसम्म पुग्न सफल भएको अनुभूति भएको छ।
अभिनेता अरुण क्षेत्रीले पनि दर्शकले आफ्नो पात्रलाई अत्यधिक रुचाएको बताए। उनले फिल्ममा चर्चित बनेको संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहोर्याउँदै दर्शकले त्यसलाई निकै मन पराएको उल्लेख गरे। आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका रहेको बताउँदै उनले दर्शक पात्रसँग भावनात्मक रूपमा जोडिनु नै ठूलो सफलता भएको प्रतिक्रिया दिए।
शीर्ष भूमिकाकी अभिनेत्री सिम्रन खड्काले पनि दर्शकले आफूलाई छोरीझैँ माया गर्दै पात्रसँग गहिरो सम्बन्ध महसुस गरेको बताइन्। धेरै दर्शकले ‘गौँथली’को संघर्ष आफ्नै जीवनसँग मिल्दोजुल्दो लागेको प्रतिक्रिया दिएको उनले सुनाइन्।
बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत डा. कपिल रिजाल पछिल्ला वर्षहरूमा फिल्म निर्देशनमा सक्रिय छन्। उनले यसअघि ‘ह्यारीकी प्यारी’मार्फत स्पर्म डोनेसनको विषय उठाएका थिए भने ‘गौँथली’मा माइल्ड अटिजम भएका व्यक्तिको जीवन, ग्रामीण समाज र छोरीको शिक्षाको महत्वलाई मुख्य कथावस्तु बनाएका छन्।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। परिवार, सम्बन्ध, आत्मीयता र सामाजिक चेतनालाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd