नेपाली चलचित्र ‘गौँथली’ ले प्रदर्शनपछि बक्स अफिसमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो दिन औसत व्यापार गरेको चलचित्रले शनिबार र आइतबार भने अपेक्षाभन्दा राम्रो कमाइ गर्दै सकारात्मक लय समातेको निर्माण पक्षले जनाएको छ।
विश्वकप फुटबलको माहोल र लगातारको वर्षाका कारण दर्शकको उपस्थिति प्रभावित हुन सक्ने अनुमान गरिए पनि चलचित्रप्रति दर्शकको आकर्षण उल्लेखनीय देखिएको छ। दर्शकको चाप बढ्दै गएपछि देशभरका धेरै हलले चलचित्रका शोहरू थप्न थालेका छन्।
निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र हेरेका दर्शकबाट आएको सकारात्मक ‘वर्ड अफ माउथ’ नै व्यापार बढ्नुको मुख्य कारण बनेको हो। उनका अनुसार विशेषगरी अपराह्न र साँझका शोहरूमा दर्शकको उपस्थिति उल्लेख्य रूपमा बढिरहेको छ, किनकि चलचित्र हेरेका दर्शकले अरूलाई पनि हेर्न सिफारिस गरिरहेका छन्।
यसैबीच, चलचित्रका महत्त्वपूर्ण दृश्यहरू फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेपछि निर्देशक रिजालले त्यसप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै दर्शकले दिएको माया र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै चलचित्रका दृश्य सार्वजनिक नगर्न आग्रह गरेका हुन्।
रिजालका अनुसार यस प्रकारका भिडियो सार्वजनिक हुँदा अन्य दर्शकको उत्सुकता घट्ने, चलचित्रको व्यावसायिक यात्रा प्रभावित हुने तथा सिर्जनात्मक र कलात्मक मूल्यमा समेत असर पर्ने भएकाले निर्माण पक्षले कानुनी प्रक्रिया अघि बढाइसकेको छ। उनले सबैलाई सिनेमाको सम्मान गर्दै यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
पारिवारिक सम्बन्ध, श्रीमान्–श्रीमतीबीचको विश्वास, अन्यायविरुद्ध आवाज उठाउने साहस, धैर्यता र लक्ष्यप्रतिको संघर्षलाई केन्द्रमा राखिएको कथावस्तुका कारण ‘गौँथली’ले दर्शकको प्रशंसा बटुलिरहेको छ। विशेषगरी महिलामाथि हुने अन्याय र पीडाको विषयलाई सशक्त रूपमा प्रस्तुत गरेकाले महिला दर्शकबाट पनि चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको निर्देशकको भनाइ छ।
निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको छ। बिहानका शोमा ७०–८० प्रतिशतसम्म दर्शक उपस्थित भएका छन् भने दिउँसो र साँझका धेरै शो हाउसफुलको अवस्थामा पुगेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावनालाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd