चर्चित भारतीय अभिनेता तथा सांसद रवि किशन पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित बनेका छन् । उनका पुराना संवाद, गीतका पंक्ति तथा सार्वजनिक अभिव्यक्तिका छोटा क्लिप र मिमहरू पुनः भाइरल भइरहेका छन् ।
रवि किशनले आफू जानीबुझी भाइरल हुने प्रयास नगर्ने बताउँदै आफ्नो बोल्ने शैली र अभिनयका कारण मानिसहरूले मन पराउने गरेको बताएका छन् । उनका ‘मनी फलोज ब्रदर्स’ लगायतका भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेका छन् ।
अभिनयसँगै राजनीतिमा सक्रिय रवि किशन आफ्ना फरक शैलीका कारण लामो समयदेखि चर्चामा रहँदै आएका छन् । गोरखपुरको कार्यक्रममा शवदाह गृहबारे गरेको टिप्पणीदेखि विभिन्न टेलिभिजन कार्यक्रम र संसद् बाहिर दिएका अभिव्यक्तिसम्मका पुराना भिडियोसमेत अहिले पुनः चर्चामा आएका छन् ।
भोजपुरी चलचित्र र गीतमा समेत सक्रिय रवि किशनले आफ्नो करियर सन् १९९२ मा चलचित्र ‘पीताम्बर’बाट सुरु गरेका थिए । लामो संघर्षपछि भोजपुरीसँगै हिन्दी चलचित्र र वेब सिरिजमा पनि उनले स्थापित पहिचान बनाएका छन् ।
उनको राजनीतिक यात्रा भने सन् २०१४ मा कांग्रेसबाट चुनाव लडेसँगै सुरु भएको थियो । सन् २०१७ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका उनी २०१९ र २०२४ को लोकसभा निर्वाचनमा गोरखपुरबाट निर्वाचित भएका थिए ।
अहिले नेता र अभिनेताका रूपमा सक्रिय रवि किशन आफ्ना अभिव्यक्ति र अभिनयभन्दा पनि सामाजिक सञ्जालमा भाइरल हुने शैलीका कारण थप चर्चामा छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd