logo

२०८३ भाद्र ७ आइतबार

४२ सेकेण्डको क्लिप भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

४२ सेकेण्डको क्लिप भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

  • Pradip
  • आइतबार, ७ भाद्र २०८३
156
SHARES
४२ सेकेण्डको क्लिप भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

संगीत तथा नाट्य एकेडेमीकी उपकूलपति तथा गायिका झुमा लिम्बुको एक भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । ४२ सेकेण्डको उक्त क्लिपमा लिम्बुले ‘यो देश क्षेत्री बाहुनले बनाएको होइन’ भनेको सुनिन्छ । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।



भाइरल क्लिपमा लिम्बुले नेपालका विभिन्न भूगोलमा रहेका आदिवासी जनजाति समुदायको उल्लेख गर्दै क्षेत्री–बाहुनको थातथलो कहाँ रहेको भन्दै प्रश्न गरेकी छन् । उनले क्षेत्री–बाहुन नेपालभरि छरिनु एकीकरणका क्रममा भएको दाबीसमेत गरेकी छन् ।

तर, लिम्बुले उक्त भिडियो क्लिपलाई आफ्नो वास्तविक धारणा नभई व्यंग्यका रूपमा प्रस्तुत गरिएको बताएकी छन् । नेपाल प्रेससँगको कुराकानीमा उनले विशेषगरी केपी शर्मा ओली र प्रचण्डका गैरजिम्मेवार अभिव्यक्तिमाथि व्यंग्य गर्ने क्रममा आफूले त्यस्तो प्रतिक्रिया दिएको स्पष्ट पारेकी छन् ।

उनका अनुसार करिब पाँच महिनाअघि सार्वजनिक भएको एक घण्टा लामो युट्युब पोडकास्टबाट ४२ सेकेण्डको अंश काटेर अहिले सामाजिक सञ्जालमा फैलाइएको हो । उनले पूरा पोडकास्ट नहेरी छोटो क्लिपकै आधारमा आफूलाई जातीय द्वेष र घृणा फैलाएको आरोप लगाउनु उचित नभएको बताएकी छन् ।

लिम्बुले यसअघि गगन थापाको काटिएको भिडियो क्लिप भाइरल भएको प्रसंगसमेत जोड्दै आफूले त्यही घटनामाथि व्यंग्य गर्दै प्रतिक्रिया दिएको बताइन् । उनका अनुसार राजनीतिक नेताहरूले आदिवासी जनजाति समुदायका विषयमा गर्ने अभिव्यक्तिमाथि व्यंग्य गर्ने क्रममा आफ्नो भनाइ आएको हो ।

आदिवासी जनजातिलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्तिविरुद्ध आफूले आवाज उठाउँदै आएको बताउँदै लिम्बुले आफू सहअस्तित्वको पक्षमा रहेको दाबी गरेकी छन् । उनले खस समुदायको इतिहास, संस्कृति र पहिचानको विषयसमेत राजनीतिक रूपमा व्याख्या भइरहेको बताइन् ।

सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई आफूले गम्भीर रूपमा नलिएको बताउँदै लिम्बुले आफूले नेपाली लोकसंगीतका लागि लामो समयदेखि काम गर्दै आएको उल्लेख गरिन् । उनले आफ्नै लगानी र मेहनतमा विभिन्न देशका कलाकारलाई नेपाली लोकसंगीतसँग जोडेर सहकार्य गराउँदै आएको दाबीसमेत गरिन् ।

भाइरल क्लिपकै आधारमा आफ्नो उपकूलपति नियुक्तिमाथि प्रश्न उठाइएको विषयमा पनि उनले असन्तुष्टि जनाएकी छन् । आफूलाई उपकूलपति बन्ने इच्छा नभए पनि साथीभाइको आग्रहमा जिम्मेवारी स्वीकार गरेको उनको भनाइ छ । उनले आफ्नो काम र योगदानका आधारमा मूल्यांकन गर्न आग्रह गरेकी छन् ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go