लामो समयपछि हास्य अभिनेता नारायण त्रिपाठी ठूलो पर्दामा फर्किएका छन् । करिब १८ वर्षपछि उनी अभिनयरत फिल्म ‘चमेलीको पोई’को ट्रेलर सार्वजनिक भएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको ट्रेलरमा प्रेम, दाम्पत्य सम्बन्ध, विश्वासघात, पारिवारिक उतारचढाव र हास्य परिस्थितिलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरले दर्शकलाई एकैपटक हाँसाउने र भावुक बनाउने संकेत गरेको छ । पारिवारिक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको फिल्ममा मनोरञ्जनसँगै मानवीय सम्बन्धका विभिन्न पाटालाई प्रस्तुत गरिएको निर्देशक बोहराले बताएका छन् । उनका अनुसार फिल्मले करिब साढे दुई घण्टा दर्शकलाई मनोरञ्जन दिने उद्देश्य बोकेको छ ।
करिब १८ वर्षपछि नेपाली फिल्ममा फर्किएका नारायण त्रिपाठी ‘चमेलीको पोई’बाट उत्साहित देखिएका छन् । अमेरिकामा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट पाएको प्रतिक्रियाले आफ्नो उत्साह अझ बढाएको उनले बताएका छन् । उनले विगतमा फिल्म निर्माणको प्रयास गरे पनि परिस्थितिले साथ नदिएको र अहिले पुनः अभिनयमा फर्किन पाउनु आफ्ना लागि विशेष अवसर भएको बताएका छन् ।
दुई दशकअघिसम्म ‘प्रेमचरो’ नामबाट फिल्म तथा सानो पर्दामा लोकप्रिय रहेका त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए । अब भने उनी ‘चमेलीको पोई’मार्फत पुनः नेपाली दर्शकमाझ देखिँदैछन् ।
फिल्मका अभिनेता मुकुनले ‘चमेलीको पोई’ले दर्शकलाई भरपूर हँसाउनुका साथै केही दृश्यमा गम्भीर बनाउने बताएका छन् । विल्सन विक्रम राईले पनि फिल्म मनोरञ्जनले भरिएको बताएका छन् । उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ फिल्ममा सँगै काम गरेको स्मरणसमेत गरेका छन् ।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक एभरेष्ट सूर्य बोहरासँग ‘भैरे’पछि पुनः सहकार्य गर्न पाएको बताएकी छन् । उनले आफूले खोजेजस्तो कथा, परिवेश र चरित्रमा काम गर्न पाएको भन्दै मुकुन र नारायण त्रिपाठीजस्ता अनुभवी कलाकारसँग अभिनय गर्न पाउनु आफ्नो लागि विशेष रहेको बताएकी छन् ।
रामनारायण उपाध्याय र सुनिता सापकोटा निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन, रजनी गुरुङ, सुनिता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी र श्रेया नारायणलगायत कलाकारको अभिनय छ ।
उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन निर्माता तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सहनिर्माताका रूपमा छन् ।
शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको लेखनमा निर्देशक बोहरालाई शिवम अधिकारीले सहयोग गरेका छन् । गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोई’ असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको देशव्यापी वितरण आरआर फिल्मस्ले गर्ने भएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd