मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै मुख्य पाँच पात्रको चरित्र खुलाएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको पोस्टरमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई पाँच पाण्डवको भूमिकामा प्रस्तुत गरिएको छ ।
पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन् । पाँचै कलाकारलाई घोडाले तान्ने सजिसजाउ बग्गीमा प्रस्तुत गरिएको छ । अगाडि हरिवंश र पछाडि बाँकी चार कलाकार उभिएको पोस्टरमा उनीहरूलाई हँसिलो मुद्रामा देखाइएको छ ।
पोस्टरले पाँच पात्रबीचको एकता र भाइचाराको भाव झल्काएको निर्माण पक्षको भनाइ छ । निर्देशक वसन्त निरौलाका अनुसार पोस्टरमार्फत पात्रको लुक्स सार्वजनिक गरेपछि चलचित्रप्रतिको दर्शकको चासो अझ बढ्ने अपेक्षा गरिएको छ ।
तिहारको अवसर पारेर कात्तिक २० गते अर्थात् नोभेम्बर ६ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रको सम्पूर्ण साउन्ड डल्बी एटमस प्रविधिमा तयार गरिएको निर्देशक निरौलाले बताएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारको अभिनय छ । पाँच पाण्डवको भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला छन् । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपाने लगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । पौडेलका अनुसार यो सामाजिक कथावस्तुमा आधारित चलचित्र हो, जसमा महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ ।
श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स छ । रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन् ।
चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशभर वितरण गर्नेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd