logo

२०८३ कार्तिक ८ शनिबार

मौसम सफा भएसँगै ‘बाः एक योद्धा’ हाउसफूल हुँदै

मौसम सफा भएसँगै ‘बाः एक योद्धा’ हाउसफूल हुँदै

221
SHARES
मौसम सफा भएसँगै ‘बाः एक योद्धा’ हाउसफूल हुँदै

मौसममा सुधार आएसँगै चलचित्र ‘बाः एक योद्धा’ले पनि प्रदर्शनमा गति लिन थालेको छ। शुक्रबारदेखि प्रदर्शनरत चलचित्रले सुरुवाती दिनमा राम्रो प्रतिक्रिया पाए पनि लगातारको वर्षाका कारण अपेक्षाअनुसार दर्शकको उपस्थिति भने देखिएको थिएन।

आइतबार दिउँसोदेखि मौसम खुल्न थालेपछि चलचित्रप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ। आइतबार मध्याह्नपछि अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको र केही शो हाउसफुलसमेत भएको निर्देशक तथा निर्माता हरि लम्सालले बताएका छन्।

“आजबाट सिनेमाले गति समातेको महसुस भएको छ। मौसममा सुधार आएसँगै शोहरू पनि हाउसफुल हुन थालेका छन्,” लम्सालले भने, “लगातारको वर्षाले दुई दिन असर गर्‍यो। तर अहिले दर्शकमा देखिएको उत्साहले हामीलाई पनि उत्साहित बनाएको छ।”

चलचित्र हेरेका दर्शकले ‘बाः एक योद्धा’ले भावनात्मक रूपमा छोएको प्रतिक्रिया दिइरहेका छन्। आफ्नै परिवार, आफन्त वा छिमेकीले भोगेको जस्तो लाग्ने कथा भएकाले चलचित्रसँग आफूहरू जोडिन सकेको दर्शकको भनाइ रहेको निर्देशक लम्सालले बताए।

विशेषगरी अभिभावकले आफ्ना सन्तानलाई चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दर्शकबाट आइरहेको निर्माण पक्षको भनाइ छ। अधिकारको खोजी गर्ने क्रममा आफ्नो दायित्व बिर्सने सन्तानले अभिभावकको त्याग र संघर्ष बुझ्न ‘बाः एक योद्धा’ हेर्नुपर्ने दर्शकको प्रतिक्रिया रहेको लम्सालले बताए।

“दर्शकले अभिभावकले आफ्ना सन्तानलाई यो चलचित्र देखाउने वातावरण बनाउनुपर्छ भनिरहनुभएको छ। उहाँहरूको यो आग्रह र सन्देशलाई मिडियामार्फत अझ धेरै दर्शकसम्म पुर्‍याउन चाहन्छौँ,” लम्सालले भने।

चलचित्रले नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। सन्तानका इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने पीडासम्मलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा र पटकथा पनि लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।


आइतबार, ११ असोज २०८३
सम्बन्धित समाचार
Go