logo

२०८३ असोज ३० शुक्रबार

‘छत्तीसको आँकडा’ले प्रदर्शन मिति तय

‘छत्तीसको आँकडा’ले प्रदर्शन मिति तय

169
SHARES
‘छत्तीसको आँकडा’ले प्रदर्शन मिति तय

अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षका अनुसार चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा रिलिज हुनेछ ।

सोमबार अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । रिलिज मिति निश्चित भएसँगै निर्माण पक्षले प्रचारप्रसारलाई पनि तीव्रता दिने तयारी गरेको छ । चलचित्रको पहिलो गीत घटस्थापनाको दिन सार्वजनिक गरिने जनाइएको छ ।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई कथाको मुख्य आधार बनाइएको छ । रेखा थापा र पूजा शर्मालाई फरक–फरक भूमिकामा प्रस्तुत गरिएको फिल्ममा उनीहरूबीचको टकरावलाई यसअघि सार्वजनिक पोस्टरले समेत संकेत गरिसकेको छ ।

पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा रहेकी रेखाले पूजा शर्माको पात्रलाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखाइएको छ । रेखाको पात्र संघर्षपछि आत्मविश्वासका साथ उभिएको देखिँदा पूजा भने प्रतिरोधको अवस्थामा प्रस्तुत छिन् । यही दृश्यले फिल्मको कथावस्तुप्रति दर्शकको चासो बढाएको थियो ।

चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य भूमिका छ । रेखाको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ भने पूजा शर्मासँग पुष्प खड्का देखिनेछन् । पूजासँग पुष्प पहिलोपटक जोडीका रूपमा पर्दामा प्रस्तुत हुन लागेका हुन् ।

‘छत्तीसको आँकडा’ले रेखा थापा र निरुता सिंहलाई पनि लामो समयपछि एउटै पर्दामा ल्याएको छ । यी दुईले यसअघि ‘दुई पल’मा सँगै काम गरेका थिए ।

निर्देशक श्रेष्ठ र रेखाबीचको सहकार्य भने नयाँ होइन । उनीहरूले ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्‍यो मेरो मन’ लगायतका चलचित्रमा सँगै काम गरिसकेका छन् । यस्तै, ‘उपहार’पछि रेखा र पूजा पनि पुनः एउटै चलचित्रमा सहकार्य गर्दैछन् ।

चलचित्रको नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको वितरण कम्पनीमार्फत ‘छत्तीसको आँकडा’ मंसिर १७ गतेदेखि दर्शकमाझ पुग्नेछ ।


मंगलबार, १३ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go