logo

२०८३ असोज ३० शुक्रबार

बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

169
SHARES
बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले पाँचौँ दिनसम्म आइपुग्दा हलमा दर्शकको उपस्थिति बढाउन थालेको छ । प्रदर्शनका सुरुवाती तीन दिन लगातार परेको वर्षाले व्यापार प्रभावित भए पनि मंगलबारदेखि चलचित्रले गति लिन थालेको निर्माण पक्षको भनाइ छ ।

मंगलबारदेखि लागू भएको ‘डिल डे’अन्तर्गत ५० प्रतिशत छुटको प्रभावसँगै चलचित्रका अधिकांश शोमा दर्शकको चाप बढेको बताइएको छ । मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको चलचित्रका धेरै शो हाउसफुल भएको वितरक पक्षले जनाएको छ ।

दर्शकको माग बढेसँगै बुधबार चलचित्रको शो संख्या पनि थपिएको छ । वितरकका अनुसार देशभर ‘बाः एक योद्धा’ले १०० भन्दा बढी शो पाएको छ । काठमाडौं उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म थप शो थपिँदै गएको जनाइएको छ ।

चलचित्रप्रति दर्शकको प्रतिक्रियामा यसको भावनात्मक पक्षले बढी प्रभाव पारेको देखिन्छ । चलचित्र हेरेपछि आफू भावुक भएको, रोएको तथा कथाका कतिपय प्रसंग आफ्नै परिवार वा आफन्तको जीवनसँग मेल खाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

विशेषगरी सन्तानको भविष्यका लागि आमाबाबुले गर्ने त्याग, संघर्ष र समर्पणलाई चलचित्रले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । कतिपय दर्शकले चलचित्र हेरेपछि आफ्ना बाबुआमाको सम्झना आएको भन्दै आफ्ना सन्तानलाई पनि यस्तो कथा देखाउनुपर्ने धारणा राखेका छन् ।

सन्तानले आफ्ना अधिकारका लागि आवाज उठाउनु स्वाभाविक भए पनि बाबुआमाप्रतिको जिम्मेवारी भुल्न नहुने सन्देश चलचित्रले दिएको दर्शकको बुझाइ छ । वृद्धावस्थामा आमाबाबुले सन्तानबाट भोग्नुपर्ने उपेक्षा तथा उनीहरूले जीवनभर गरेको त्यागलाई चलचित्रले भावनात्मक ढंगले उठाएको प्रतिक्रिया दर्शकबाट आएको छ ।

प्रदर्शनको पहिलो दिनदेखि नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको चलचित्रको कलाकार टोलीले मंगलबारदेखि बढेको दर्शकको उपस्थितिले आफूहरूलाई थप उत्साहित बनाएको जनाएको छ । कलाकारहरू हलमै पुगेर दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिइरहेका छन् ।

‘बाः एक योद्धा’को कथा सन्तानको भविष्य निर्माणका लागि बाबुले गर्ने संघर्ष, त्याग र जीवनभर सामना गर्ने चुनौतीमा केन्द्रित छ । सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने एक्लोपन, उपेक्षा र पीडासम्मका विषय कथामा समेटिएका छन् ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।


बुधबार, १४ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go