दसैंको छेको पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ। शिव परियार र भारतीय गायिका सरोदी कुमार (बोरा)को स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ।
सरोदीले भोजपुरी र हिन्दी फिल्मका विभिन्न गीतमा स्वर दिइसकेकी छन्। नेपाली फिल्ममा भने ‘लालीगुराँस’मार्फत उनको स्वर सुन्न सकिन्छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीर भट्ट र कृशु शाही (काफिया)लाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी कृशु र समीरको जोडीलाई हिमाली तथा पहाडी क्षेत्रका प्राकृतिक दृश्यको पृष्ठभूमिमा रोमान्टिक शैलीमा देखाइएको छ।
महेश पौडेलको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको भिडियोले फिल्मको एक्सनप्रधान कथाभन्दा फरक प्रेम पक्षलाई अगाडि ल्याएको छ।
विराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्ममा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व र साहिल सिंह ठकुरीलगायत कलाकारको अभिनय छ। सरस्वती भट्ट फिल्मकी निर्माता हुन्।
फिल्ममा महेश पौडेल डीओपी छन् भने राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन र सन्तोष सरकारको लेखन रहेको छ। स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्। कालाचरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको फिल्म सन् २०२४ मा प्रदर्शन भएको ‘१२ गाउँ’को सिक्वेल हो।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd